अर्जुनचौपारीबाट नेपाललाई विश्वमाझ चिनाउन अग्रसर तिवारी कांग्रेसको केन्द्रीय सदस्य भिड्दै
गाउँको विकासलाई सडक र भवन निर्माणमा मात्र सीमित नराखी धार्मिक पर्यटनमार्फत गाउँको पहिचानलाई देश–विदेशसम्म पुर्याउने अभियान थालेका अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारी नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीसहित खस आर्य कलष्टरबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
काठमाडौं, असोज २० : स्थानीय तहमा विकासको नयाँ अभ्यास अघि सारेका प्रकाश तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
गाउँको विकासलाई सडक र भवन निर्माणमा मात्र सीमित नराखी धार्मिक पर्यटनमार्फत गाउँको पहिचानलाई देश–विदेशसम्म पुर्याउने अभियान थालेका अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारी नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीसहित खस आर्य कलष्टरबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
तिवारीको राजनीतिक यात्राको सबैभन्दा चर्चित पहिचान भनेको अर्जुनचौपारीमा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिर हो । उनको परिकल्पनामा निर्माण भएको यो मन्दिरलाई उनले धार्मिक आस्था र पर्यटनलाई जोड्ने परियोजनाका रूपमा अघि बढाएका हुन् । नवग्रह मन्दिरमार्फत अर्जुनचौपारीलाई छुट्टै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र त्यसबाट स्याङ्जासँगै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उनको लक्ष्य छ।
स्थानीय तहको नेतृत्व सम्हालेपछि तिवारीले पूर्वाधारसँगै पर्यटन, सुशासन, शिक्षा र रोजगारीलाई विकासको आधार बनाउने प्रयास गरेका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा ५ हजार २९१ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्ष निर्वाचित भएका तिवारीले आफ्नो कार्यकालमा विकासका पूर्वाधारमा उल्लेख्य काम अघि बढाएको दाबी गर्दै आएका छन् ।
२०७९ सालमा अर्जुनचौपारीमा एक किलोमिटर पनि पक्की सडक नभएको अवस्थामा अहिले २० किलोमिटरभन्दा बढी सडक पक्की बनाउने काम अघि बढेको उनको भनाइ छ । सडक विस्तारसँगै पालिकाको आन्तरिक राजस्व बढाउने, बेरुजु घटाउने र वित्तीय अनुशासन कायम गर्ने कामलाई समेत उनले प्राथमिकतामा राखेका छन् ।
स्थानीय सरकार सञ्चालनमा गरेको कामको मूल्यांकन गर्दै नेपाली कांग्रेसले तिवारीलाई उत्कृष्ट जनप्रतिनिधिका रूपमा सम्मान समेत गरेको थियो । कांग्रेसबाट निर्वाचित ३२९ पालिका प्रमुख तथा अध्यक्षमध्ये महालेखा परीक्षकको प्रतिवेदन, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन तथा संस्थागत क्षमता स्वमूल्यांकनलगायतका सूचकका आधारमा तिवारीले नेतृत्व गरेको अर्जुनचौपारी उत्कृष्ट पालिकाका रूपमा छनोट भएको थियो । साथै नेपाल सरकार संघीय मामिला मन्त्रालयले समेत उत्कृष्ट पालिका अवार्ड प्रदान गरेको थियो ।
अनलाइन खबरले आयोजना गरेको उत्कृष्ट ४० प्रभावशाली युवाको सूचीमा समेत समावेश भएका तिवारीलाई नेपाल जेसीजले पनि उत्कृष्ट युवा पुरस्कार लगायत थुप्रै पुरस्कारबाट सम्मानित भईसकेका छन् ।
तिवारीका लागि स्थानीय सरकारको नेतृत्व अब पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने आधारसमेत बनेको छ । स्थानीय तहमा आफूले गरेको कामलाई पार्टीको राष्ट्रिय राजनीतिसँग जोड्ने तयारीमा रहेका तिवारीले युवा नेतृत्व, सुशासन, स्थानीय अर्थतन्त्र, धार्मिक पर्यटन र रोजगारी सिर्जनालाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेको उनले बताएका छन् । एउटा गाउँको पहिचान बदल्ने प्रयासलाई नेपालको पहिचानसँग जोड्ने र पर्यटनमार्फत नेपाललाई विश्वमाझ चिनाउने एजेन्डासहित तिवारी कांग्रेसको केन्द्रीय सदस्यको दौडमा उत्रिएका छन् ।











