गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको उनले बताए ।
काठमाडौं, असाेज१९ : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको उनले बताए ।
पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने बताए ।
पाण्डे नेपाली कांग्रेसको तीन पटक केन्द्रीय सदस्यका रूपमा तथा ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा काम गरेको अनुभवसँगै युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताएका छन् ।
‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ उनले भने ।
हाल कांग्रेसको सदस्यका रूपमा गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गरिरहेको उल्लेख गर्दै पाण्डेले सरकार सञ्चालनका क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूल आधार बनाएर काम गर्दै आएको उनले बताए ।











