गोविन्द भट्टराई कांग्रेसको उपसभापतिमा लड्ने
नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय अध्यक्ष तथा पार्टीका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका भट्टराईले देश तथा विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ताबाट उपसभापतिमा उम्मेदवारी दिन सुझाव आएकाले चुनाव लड्ने निर्णय गरेको बताए ।
काठमाडौं, असोज १८ : नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय अध्यक्ष तथा पार्टीका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका भट्टराईले देश तथा विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ताबाट उपसभापतिमा उम्मेदवारी दिन सुझाव आएकाले चुनाव लड्ने निर्णय गरेको बताए ।
‘देश तथा विदेशबाट समेत पार्टीलाई बलियो र एकताबद्ध बनाउन तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको छ। मैले त्यसलाई सम्मान गर्दै उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ उनले भने। भट्टराईले आफूले कांग्रेसलाई नयाँ ढंगले अघि बढाउन उम्मेदवारी दिन लागेको बताए।
इमानदार र नैतिकवान नेताको छवि बनाएका भट्टराईले नेविसंघको नेतृत्वमा रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघ विजयी भएको दाबी गरिएको छ ।
भट्टराईले अहिलेको राजनीतिक परिस्थितिमा प्रियवादी लोकरिझ्याइँ र पुरातनवादी सोच दुवै कांग्रेस र देशका लागि घातक रहेको बताए । उनले कांग्रेसलाई आम नागरिकको पार्टीका रूपमा पुनःपरिभाषित गर्न आवश्यक रहेको भन्दै आफ्नो राजनीतिक शक्ति त्यसैमा केन्द्रित गर्ने बताए ।
‘प्रियतावादीको लोकरिझ्याइँ र पुरातनवादी सोच दुवै पार्टी र देशका लागि घातक छन् । कांग्रेसलाई आम मान्छेको पार्टीका रूपमा पुनःपरिभाषित गर्नु आवश्यक छ। मेरो शक्ति त्यसैमा लगाउनेछु,’ उनले भने ।











