सन्चारकर्मी पाैड्याललाई `यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’

काठमाडौं, असाेज११ : नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार तथा सञ्चारकर्मी सन्दीप पौड्याल ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’ अन्तर्गत पत्रकारिता अवार्डबाट सम्मानित भएका छन् ।
यमन इन्टरटेन्मेन्टको आयोजनामा शनिबार काठमाडौंमा आयोजित विशेष एवं भव्य समारोहमा पौड्याललाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पत्रकारिता अवार्ड प्रदान गरिएको हो ।
समारोहका प्रमुख अतिथिले उनलाई खादा, माला तथा दोसल्ला ओढाउनुका साथै अवार्ड प्रदान गरेर सम्मान गरेका थिए ।
नेपाली पत्रकारिता, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा दुई दशक लामो समयदेखि सक्रिय पौड्याल हाल हिमालय टाइम्स दैनिकका उपसम्पादक तथा ई–हिमालय टाइम्सको सम्पादकका रूपमा कार्यरत छन् । पत्रकारितामार्फत समाचार सम्प्रेषणसँगै गीतसंगीत तथा वृत्तचित्र निर्माणका क्षेत्रमा समेत उहाँले आफ्नो सक्रियता विस्तार गर्दै अाएका छन् ।

अवार्डको निर्णायक समितिले पौड्यालले लामो समयदेखि नेपाली पत्रकारिताको विकास र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानलाई मूल्यांकन गर्दै उनलाई पत्रकारिता अवार्ड प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । पत्रकारितासँगै गीत लेखनमा समेत सक्रिय पौड्यालका सिर्जनाहरू गीतसंगीतका क्षेत्रमा आएका छन् ।
उनले सामाजिक, सांस्कृतिक तथा समुदाय केन्द्रित विषयलाई प्राथमिकतामा राख्दै वृत्तचित्र निर्माणमा समेत काम गर्दै आएका छन् । विशेषगरी थकाली समुदाय र बालबालिकासँग सम्बन्धित विभिन्न सामाजिक तथा सांस्कृतिक विषयमा उनले लेखन तथा वृत्तचित्र निर्माण गरेका छन् ।
पौड्यालले नेपाली सञ्चार क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न सञ्चारमाध्यममा गरेकाे अनुभव छ । लामो समय इमेज टेलिभिजनलगायतका सञ्चारगृहमा रहेर पत्रकारिता तथा सञ्चार क्षेत्रमा योगदान पुर्याएका छन् ।
सञ्चारमाध्यममा समाचार लेखन, सम्पादन तथा सामग्री उत्पादनका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी पछिल्लो समय हिमालय टाइम्समा आबद्ध छन् ।
यमन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’मा संगीत तथा मनोरञ्जन क्षेत्रका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टा, कलाकार, सञ्चारकर्मी तथा व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
समारोहमा विभिन्न सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।











-1789895690.jpg)