Kathmandu Press

वरिष्ठ ज्येष्ठ नागरिक भत्ता वितरण गर्न कामपाका जनप्रतिनिधि घर–दैलोमा 

काठमाडौं, जेठ १९ : लकडाउन जारी रहेकै बेला काठमाडौं महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया  विष्णुप्रिया म....

वरिष्ठ ज्येष्ठ नागरिक भत्ता वितरण गर्न कामपाका जनप्रतिनिधि घर–दैलोमा 

काठमाडौं, जेठ १९ : लकडाउन जारी रहेकै बेला काठमाडौं महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया  विष्णुप्रिया मालीको निवासमा वरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो। वडाध्यक्ष महर्जनले मालीको हातमा वरिष्ठ ज्येष्ठ नागरिक भत्ताका रुपमा  १२ हजार थमाएपछि विष्णुप्रियाले नेवारी लवजमै औधी खुशी लागेको प्रतिक्रिया दिइन्। 

लामो समयदेखि थाइराइड र प्रेसरको औषधि नियमित सेवन गरिरहेकी जोशी गल्लीका ८७ वर्षीय राजाराम जोशीले काठमाडौं महानगरपालिकाले घरमै आएर उपलब्ध गराएको वरिष्ठ ज्येष्ठ नागरिक भत्ताबाट थाइराइड र प्रेसरको औषधि किन्ने बताए। वडा–१८ कै भुरुङखेलकी ८८ वर्षीया सुधादेवी प्रधानले पनि यसरी जनप्रतिनिधिलाई भत्तासहित आफ्नै निवासमा देख्दा स्थानीय सरकार घर–दैलोमै आएको अनुभव सुनाइन्। 

काठमाडौं महानगरपालिकाले माली, जोशी र प्रधानलाई मात्रै होइन ३२ वटै वडामा स्थायी वासोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर महानगर विशेष भत्ता उपलब्ध गराउँदै आएको छ। ३२ वटै वडामा स्थायी वासोवास गर्ने यस्ता वरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन्। 

त्यसैगरी महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि यहि बेला विशेष भत्ता घर–घरमै पुर्याउँदै छ। त्यसको लागि महानगरपालिकाले ३२ वटै वडालाई रकम निकासा गरिसकेको छ। केही वडाले वितरण सुरु गरेका छन् भने केहीले तत्कालै सुरु गर्ने जानकारी दिएका छन्।  ‘काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकले समाजलाई पु¥याएको योगदानको सम्मान स्वरुप वार्षिक रुपमा वरिष्ठ जेष्ठ नागरिकलाई विशेष भत्ता वितरण गर्दै आएको छ,’ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘अहिले मुलुक नै बन्दाबन्दीको अवस्थामा छ। यस्तो बेलामा वरिष्ठ ज्येष्ठ नागरिकलाई महानगरपालिकाले वितरण गरेको विशेष भत्ताले केही राहत महशुस होस भनी घर–घरमै लगेर वितरणको व्यवस्था गरेका हौं।’ 

दुःखका बेलामा पनि महानगरपालिका हाम्रो साथमा छ भन्ने महशुस उनीहरुलाई होस भन्ने मनसायले यही बेला भत्ता उपलब्ध गराएको उनको भनाई छ। उनले विगतमा महानगरपालिकाले विशेषज्ञ चिकित्सकको टोलीसहित ज्येष्ठ नागरिकको घर–घरमै गई निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने लगायतका काम गरेको जानकारी दिए।

प्रकाशित मिति: १८:१० बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्