Kathmandu Press

मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

सांसद थकालीले भाद्र २३ गते राति लोमान्थाङ गाउँपालिका–छोसेर क्षेत्र केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पपछि पटक–पटक धक्का महसुस भएको बताए। 
मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

काठमाडौं, भदाै २५ : नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङको लोमान्थाङमा गएको भूकम्पका कारण ३०० देखि ५०० घरधुरीसम्म क्षति पुगेको भन्दै प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थकालीले भाद्र २३ गते राति लोमान्थाङ गाउँपालिका–छोसेर क्षेत्र केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पपछि पटक–पटक धक्का महसुस भएको बताए। 

‘मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र मुस्ताङमा यही भाद्र २३ गते राति लोमान्थाङ गाउँपालिका अन्तर्गत छोसेर क्षेत्र केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पपछि पछिल्लो २४ घण्टामा पटक–पटक गरी करिब ८ पटकसम्म धक्का महसुस भएको छ। यसबाट मुस्ताङको लोमान्थाङ गाउँपालिकाका वडा नम्बर १, २, ३ र ३, ४ र ५ मा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ,’ उनले भने।

उनका अनुसार भूकम्पका कारण लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ।

‘गाउँपालिकाको प्रारम्भिक अध्ययन अनुसार करिब ३०० देखि ५०० घरधुरीसम्म सामान्यदेखि गम्भीर प्रकृतिको क्षति पुगेको छ। केही घरहरू बस्न नमिल्ने तथा अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको छ। लोमान्थाङ ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको एक उच्च हिमाली बस्ती र मानव सभ्यता हो, जहाँ र्‍ याम्प अर्थ प्रविधिबाट निर्मित परम्परागत माटाका घरहरू छन् र यसलाई एउटा जीवित सङ्ग्रहालयको रूपमा, लिभिङ म्युजियमको रूपमा पनि परिचित छ,’ उनले भने।

भूकम्पपछि वर्षाका कारण चर्किएका तथा कमजोर बनेका संरचनामा थप क्षति पुगेको भन्दै उनले प्रभावित क्षेत्रमा जोखिम बढेको बताए। विद्यालय, सार्वजनिक संरचना तथा ऐतिहासिक र धार्मिक सम्पदामा समेत क्षति पुगेको प्रारम्भिक विवरण आएको उनको भनाइ छ।

उनले क्षतिको मूल्याङ्कनका आधारमा प्रभावित घरधुरीलाई क्षतिपूर्ति तथा पुनर्निर्माणको स्पष्ट व्यवस्था गर्न र विद्यालय तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनस्र्थापनाका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, भदौ २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्