Kathmandu Press

काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह

बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि बुलेटमार्फत ग्यास ढुवानीमा समस्या आएको जनाएको छ ।
काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौं, भदाैं२५ : नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि बुलेटमार्फत ग्यास ढुवानीमा समस्या आएको जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा क्षति पुगेको संघको भनाइ छ ।

सडक अवरुद्ध भएपछि नेपाल आयल निगमको निर्देशनअनुसार काठमाडौं, काभ्रे र धादिङमा रहेका ग्यास उद्योगका सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीमा रहेका उद्योगमा लगेर रिफिल गरी काठमाडौं उपत्यकामा आपूर्ति गरिएको संघले जनाएको छ ।

संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुँदै आएको छ । पछिल्ला तीन दिनदेखि सोही मागअनुसार तराईका विभिन्न जिल्लामा सिलिन्डर रिफिल गरी उपत्यकामा बिक्री वितरण भइरहेको र आगामी दिनमा पनि थप सिलिन्डर रिफिल गरी नियमित आपूर्ति कायम राखिने संघले जनाएको छ ।

संघले विगतमा भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीजस्ता संकटका समयमा समेत एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई निरन्तरता दिइएको स्मरण गराएको छ ।

प्रकाशित मिति: ०८:२१ बजे, बिहीबार, भदौ २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्