विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
‘कतिपय ठाउँमा बाटो छैन, मौसम अनुकूल छैन, तर ती सबै कठिनाइका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन्। त्यसैगरी स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधिहरू र कर्मचारीहरूले यो विपत्तिको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्,’ उनले भने।
काठमाडौं, भदाै २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको अवस्थालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे। उनले विपत्ति सुरु भएदेखि नै सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरी उद्धार, उपचार र राहतको काम अघि बढाएको बताए।
लामिछानेले विपत्तिका सुरुकै घण्टामा हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको र हवाई उद्धारसमेत व्यवस्थित रूपमा सञ्चालन गरिएको दाबी गरे।
‘यो विपत्तिमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ। विपत्तिका सुरुकै घण्टामा सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो। हजारौँ सुरक्षाकर्मीहरू तत्कालै प्रभावित क्षेत्रमा खटिए। तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धार यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो,’ उनले भने।
लामिछानेले घाइतेहरूको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकारले देखाएको तत्परतामाथि प्रश्न गर्ने ठाउँ नरहेको बताए। विपत्तिका कारण घर, सम्पत्ति तथा जीवनका आधारभूत साधन गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले तत्कालीन आवश्यकता र सुरक्षाको जिम्मेवारी लिएको उनको भनाइ थियो।
उनले भने, ‘घाइतेहरूको उद्धार र उपचार, विस्थापित परिवारहरूको लागि अस्थायी बसोबास, खाद्यान्नको लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ। आफ्ना घर, सम्पत्ति, जीवनका आधारभूत साधनसमेत गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको पूर्ण जिम्मेवारी लिएको छ।’
कतिपय प्रभावित क्षेत्रमा सडक तथा यातायातको पहुँच नहुनुका साथै मौसमसमेत प्रतिकूल रहे पनि उद्धार तथा राहतकर्मीहरू प्रभावित नागरिकसम्म पुगेको लामिछानेले बताए। कठिन परिस्थितिका बीच उद्धार तथा राहतका काम अघि बढाइएको उनको भनाइ थियो।
लामिछानेले स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले समेत विपत्तिको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।
‘कतिपय ठाउँमा बाटो छैन, मौसम अनुकूल छैन, तर ती सबै कठिनाइका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन्। त्यसैगरी स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधिहरू र कर्मचारीहरूले यो विपत्तिको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्,’ उनले भने।
उनले विपत्तिको समयमा राज्यका सबै संयन्त्रबीचको समन्वय र प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धार उपलब्ध गराउनु प्रमुख विषय भएको बताए। लामिछानेले विपत्तिको मूल्याङ्कन राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर गर्नुपर्ने धारणा राखेका छन्।










