Kathmandu Press

तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न सांसद दुलालको आग्रह  

‘गत भदौ १० गतेको भोटेकोशीको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता हुनुहुन्छ। सबै बेपत्ता नागरिकहरूको निरन्तर खोजी कार्य प्रभावकारी ढङ्गले अगाडि बढाउनको लागि सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने।
तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न सांसद दुलालको आग्रह  

काठमाडौं, भदाै २४ : नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता रहेको बताए।

उनले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए। साथै, बाढीपहिरोजस्ता विपद्बाट पाठ सिक्दै नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली तत्काल जडान गर्नुपर्नेमा उनले जोड दिए।

‘गत भदौ १० गतेको भोटेकोशीको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता हुनुहुन्छ। सबै बेपत्ता नागरिकहरूको निरन्तर खोजी कार्य प्रभावकारी ढङ्गले अगाडि बढाउनको लागि सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने।

सांसद दुलालले विगतमा मेलम्चीमा आएको बाढी र अहिले भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप त्रसित बनाएको बताए। सिन्धुपाल्चोकको तातोपानी, बाह्रबिसेलगायतका नदी किनारका बस्तीका नागरिक बाढीको जोखिमका कारण त्राहिमाम अवस्थामा रहेको उनको भनाइ छ।

उनले विपद्को जोखिम न्यूनीकरणका लागि नदी तटीय बस्तीमा अर्ली वार्निङ सिस्टम (पूर्वसूचना प्रणाली) तत्काल जडान गर्न सरकारसँग माग गरे।

‘घटनाबाट चेतना पैदा हुनुपर्छ। कुनै बेला मेलम्चीमा आएको बाढी अकल्पनीय थियो । अहिले भोटेकोशी नदीमा आएको बाढी हामी सबैलाई अकल्पनीय लागेको छ। अहिले पनि नदी किनारका थुप्रै बस्तीहरू सिन्धुपाल्चोक जिल्लाको तातोपानी, बाह्रबिसेलगायतका बस्तीहरू कुन दिन बाढी आउने हो भन्ने विभिन्न सूचनाबाट त्राहिमाम छन्,’ उनले भने,  ‘त्यसकारण विगतदेखि नै हामीले माग गर्दै आएका छौँ, नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्नका लागि सरकारलाई पटक–पटक भनेका छौँ। त्यो अभिलम्ब जडान गरियोस् र घटनाबाट चेतना पैदा होस्।’

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, भदौ २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्