सरकारसँग बलावतीको प्रश्न- भदौ २४ गतेको हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने?
‘भदौ २३ गते युवाहरूले गरेको आन्दोलन पवित्र थियो। शान्तिपूर्ण तर भदौ २४ गते ऐतिहासिक धरोहर ध्वस्त पार्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने उद्देश्य के थियो ?,’ उनले प्रश्न गरिन्।
काठमाडौं, भदाै २४ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले गत वर्ष भदौ २३ गते युवाहरूले गरेको आन्दोलन पवित्र रहेको बताएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले भदौ २४ गते भएका हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग प्रश्न गरेकी छन्। उनले भदौ २४ गते भएको सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी, लुटपाट तथा ऐतिहासिक धरोहरमाथिको क्षतिप्रति उनले गम्भीर प्रश्न उठाइन्।
‘भदौ २३ गते युवाहरूले गरेको आन्दोलन पवित्र थियो। शान्तिपूर्ण तर भदौ २४ गते ऐतिहासिक धरोहर ध्वस्त पार्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने उद्देश्य के थियो ?,’ उनले प्रश्न गरिन्।
सांसद शर्माले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासनलगायत तत्कालीन सत्ताका बेथितिविरुद्ध युवाहरूले उठाएको आवाजलाई जायज भएको बताइन्।
सांसद शर्माले उक्त घटनाको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग जवाफ मागिन्। उनले आन्दोलन सत्ता आरोहणको भ¥याङ मात्रै थियो कि त्यसपछाडि अन्य कुनै उद्देश्य पनि थियो भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताइन्।
उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन तथा मानव अधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने वा नपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन्।
‘गौरीबहादुर कार्की र मानव अधिकारको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने थियो कि थिएन ? सरकारलाई सोध्न चाहन्छु,’ उनले भनिन्।










