ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी
काठमाडौं, जेठ १९ : मुलुकमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी थालेको छ।
....
काठमाडौं, जेठ १९ : मुलुकमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले संक्रमित संख्यमा अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए।
उनले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताए। उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ।
'संक्रमितको संख्या हाम्रो हातमा रहेको छैन। केही दिनको तथ्याङ्क हेर्दा यो संख्या बढ्छ”, उनले भने, “त्यसैले पटकपटक किन्नुभन्दा पनि एकैपटक तीन महिनालाई पुग्ने ठूलो मात्रामा औषधि किन्ने तयारीमा छौं।'
उनका अनुसार पहिले एक हजार ५०० संक्रमित हुने अनुमान गरेका थियौं। केही दिनअघि मात्र पाँच हजारको संख्यामा संक्रमित हुने अनुमान गरिएको छ। दैनिक १५० जनाभन्दामाथि संक्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
अहिले महाशाखासँग एक लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), १४ लाख मास्क, एक लाख ८० हजार एन ९५ मास्क, २८ हजार भिटिएम र ४० हजार आरडिटी मौज्दात रहेको उनले बताए।











