त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन
सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, भदाै २२ : नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले उद्धार कार्य तीव्र बनाउन माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी सुमन नयाँजूले उद्धार कार्यलाई अझै सशक्त र तीव्र बनाउन आफूहरू माइतीघरमा उपस्थित भएको बताए।
‘रेस्क्युलाई अझै सशक्त र फास्ट गर्नका लागि हामी यहाँ उपस्थित भएका हौँ। बाढीले धेरै ठाउँमा असर पारेको र भौगोलिक अवस्थाका कारण पनि उद्धारमा कठिनाइ भएको हुन सक्छ। तर स्रोत र साधन भए तत्काल सञ्चालन गर्ने र नभएको अवस्थामा पनि कहाँबाट उपलब्ध गराउन सकिन्छ भन्नेतर्फ सरकारले पहल गर्नुपर्ने थियो,’ उनले भने।

उनले सुरुदेखि नै उद्धारका लागि उपलब्ध स्रोत–साधन परिचालन गर्नुपर्नेमा ढिलाइ भएको गुनासो गरे।
देश–विदेश सबैतिरबाट सहयोग गर्छु भन्दा पनि छैटौँ–सातौँ दिनसम्म सरकारले निजी क्षेत्रलाई आफैँ उद्धार गर्छु भन्दा पनि अनुमति दिनुभएको थिएन। सातौँ दिनपछि मात्रै निजी कम्पनीले पनि आफैँ उद्धार गर्न सक्छ भनेर हात उठाइदिएको अवस्था आयो। सुरुको दिनदेखि गर्नुपर्ने काम सातौँ–आठौँ दिनमा हुँदा धेरै ढिला भयो,’ नयाँजूले भने।
त्रिशूली–३ ‘बी’ मा उद्धारको काम निकै सुस्त रहेको दाबी गर्दै उनले भने,‘आजसम्म पनि त्रिशूली–३ ‘बी’ पूरै बिल्डिङ, हाउसहरू र अफिसहरू सबै पुरिएका छन्। त्यसमा काम पाँच प्रतिशत पनि भएको छैन । १० गते बाढी आएको भदौ २१–२२ गते भइसक्दा पनि पाँच प्रतिशत काम सुरु भएको छैन। अब तपाईंहरू आफैँ मूल्याङ्कन गर्नुहोस।’

सरकार चुक्यो कि चुकेन भन्ने प्रश्नमा उनले अहिले सरकारलाई दोष दिएर मात्र बस्नेभन्दा पनि बेपत्ता व्यक्तिको उद्धारमा तत्काल केन्द्रित हुनुपर्ने बताए।
उनले सुरक्षा निकायले केही स्थानमा प्रभावकारी काम गरेको र जीवितै उद्धारसमेत गरेको स्वीकार गर्दै उपलब्ध स्रोत, प्रविधि र जनशक्तिको अधिकतम प्रयोग गर्नुपर्ने बताए।
बेपत्ता परिवार तथा आफन्तलाई समेत उद्धार अभियानमा समेटेर अघि बढ्न उनले सरकारसँग अपिल गरे।












