बेत्रावतीमा पुरिएको घरबाट महिलाको उद्धोर, छाउनीमा उपचार हुँदै
नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले शनिबार उद्धार गरेको हो।
काठमाडौं, भदौ २० : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवित उद्धार गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले शनिबार उद्धार गरेको हो।
उनलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पतालमा ल्याइएको शसस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नरेन्द्र बहादुर कार्कीले जानकारी दिए।
‘६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनी अस्पताल ल्याएका छौं। उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले जाँच गरिरहनुभएको छ,’ उनले भने।
सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले श्रेष्ठलाई अचेत अवस्थामा फेला पारेको थियो ।
भोटेकोशी बाढीको ११ दिनपछि पनि जीवित व्यक्तिको उद्धार हुनुले उद्धार अभियानमा आशाको अर्को किरण थपिएको छ।