आलोचकहरूलाई गृहमन्त्रीले भने– म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्
‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेसन ग्याप रहेको गृहमन्त्री गुरुङले बताएका छन्।
काठमाडौं, भदौ १९ : गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको समाजिक सञ्जालमार्फत जवाफ दिएका छन्।
डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उनले उल्लेख गरेका छन्।
उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु।’
‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेसन ग्याप रहेको गृहमन्त्री गुरुङले बताएका छन्।
उनलेले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको प्रष्ट पारेका छन्।
‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ चिन्ता लिनु पर्दैन । अनलाइनबाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ,’ उनले भनेका छन्।
फिल्डको वास्तविक यथार्थ नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम देशले वर्षौँदेखि भोग्दै आएको भन्दै उनले पुरानो कार्यशैलीको आलोचना गरेका छन्।











