ओलीले भने- राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ
‘अहिले यतिवेला राहत र उद्धारको समय छ। हामी त्यसमा नै केन्द्रित हुन्छौँ। राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ,’ उनले भने।
काठमाडौं, असाेज १९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए।
उनले प्रभावित क्षेत्रमा प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा दाताहरूबाट सहयोग भइरहेको उल्लेख गर्दै बाढीपहिरोले क्षति पु¥याएका स्थानमा तुइन, झोलुङ्गे पुल तथा सडक निर्माणका काम अघि बढाउनुपर्ने बताए ।
‘अहिले यतिवेला राहत र उद्धारको समय छ। हामी त्यसमा नै केन्द्रित हुन्छौँ। राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ,’ उनले भने।
ओलीले बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा गरिरहेको कामका लागि धन्यवाद दिँदै अन्य प्रदेश सरकार तथा दाताहरूलाई समेत सहयोग जारी राख्न आग्रह गरे।
‘बागमती सरकारले अहिले तुइन राखिदिने काम गर्दा जनतालाइ सहयोग पुग्छ। कतिपय ठाउँका झोलुङ्गे पुल निर्माण गर्ने, बाटोहरु निर्माण गर्ने कामहरु भइरहेको छ। प्रदेश सरकारलाई धन्यवाद भन्न चाहन्छु र विभिन्न प्रदेश सभाहरुले सहयोग पुर्याइरहेका छन्। अरु विभिन्न दाताहरुबाट पनि सहयोग जुटिरहेको छ। उहाँहरु सहयोगी मनका दाताहरुलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने,
यसैगरी ओलीले विपद्का बेला नेपाली सेना र प्रहरीले उद्धार तथा राहतमा गरिरहेको कामको प्रशंसा गरेका छन् । तर सेनालाई राजनीतिक विवादमा मुछ्ने वा मुछिने अवस्था आउन नहुने उनको भनाइ थियो।
नेपाली सेना राजनीतिक विवादबाट पृथक, निर्विवाद र निष्कलङ्क रहनुपर्नेमा जोड दिँदै ओलीले सेनालाई नेपाली जनताको आशा, भरोसा र विश्वासको राष्ट्रिय सुरक्षा संस्थाका रूपमा कायम राख्नुपर्ने बताए।











