खोज तथा उद्धार कार्य जारी, ४,२०० जना अझै बेपत्ता

काठमाडौं, भदाै १८ : परराष्ट्र मन्त्रालयले विपद्प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उल्लेख्य संख्यामा मानिसहरू अझै बेपत्ता रहेकाले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।
उनका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट १ हजार २५२ शव फेला परेका छन् भने करिब ४ हजार २०० जना अझै बेपत्ता छन्।
उद्धार गरिएका व्यक्तिको संख्या ११ हजार ९९३ पुगेको छ । उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ । ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको प्रवक्ता क्षेत्रीले बताए।
खोज तथा उद्धार र तथ्याङ्क प्रमाणीकरणको काम जारी रहेकाले यी विवरणहरूमा आवश्यकताअनुसार अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ ।
अद्यावधिक विवरण मन्त्रालयको वेबसाइट तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल पर्यटन बोर्डमार्फत सार्वजनिक गरिनेछ ।
प्रभावित क्षेत्रमा नेपाली सेना, सुरक्षा निकाय तथा भारत, चीन र कोरिया गणतन्त्रका सुरुङ उद्धार टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य गरिरहेका छन् । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमसम्म ९ हजार ३०० भन्दा बढी नेपाली सेना परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
चिलिमे र लाङटाङ क्षेत्रमा भारतीय सुरुङ उद्धार टोलीले नेपाली उद्धार टोलीसँग सहकार्य गरिरहेको छ । आवश्यक उपकरणसहित उद्धार कार्य जारी रहेको र थप सहयोगका लागि एउटा एक्साभेटर चिलिमे पठाउने तयारी गरिएको छ ।
लाङटाङ क्षेत्रमा जलविद्युत् आयोजनाका दुई कर्मचारी तथा ड्रिलिङ उपकरणसहित २५ जना नेपाली सेनाका जवानले सुरुङको माथिल्लो भागतर्फ अर्को सानो प्वाल खोल्ने काम गरेका छन् । थप उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।
माथिल्लो त्रिशूली–३ ‘ए’ मा ९३ सदस्यीय उद्धार टोली परिचालन गरिएको छ । चिनियाँ सुरुङ उद्धार टोली नेपाली उद्धार टोलीसँगै कार्यरत छ । टोलीलाई थप जनशक्ति र उपकरणसहित सुदृढ गरिएको छ ।
माथिल्लो त्रिशूली–३ ‘बी’ मा ६७ जना नेपाली सेना र जलविद्युत् आयोजनाका तीन प्राविधिक विज्ञ एक्साभेटरसहित परिचालन भएका छन् । भत्किएको संरचनामा खोज तथा उद्धारका लागि सीएसएसआर टोलीसमेत परिचालन गरिएको छ ।
हाकु क्षेत्रस्थित माथिल्लो त्रिशूलीमा नेपाली सेना जलविद्युत् आयोजनाका कर्मचारीसँगको सहकार्यमा सुरुङभित्र प्रवेश गरी खोजी कार्यमा जुटेको छ। रसुवागढी क्षेत्रमा एक्साभेटर परिचालनको सम्भावना मूल्याङ्कन गर्न रेकी उडान गरिएको छ ।
यस्तै, माथिल्लो त्रिशूली–१ मा कोरियन सुरुङ उद्धार टोलीले नेपाली टोलीसँग मिलेर सुरुङ खोल्ने काम जारी राखेको छ ।
मृतकको पहिचानका लागि भारत, चीन, सिङ्गापुर र कोरिया गणतन्त्रका फोरेन्सिक विशेषज्ञहरू नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन् ।
मन्त्रालयका अनुसार भारतबाट १९ सदस्यीय, चीनबाट पाँच सदस्यीय र सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोलीका १९ सदस्य नेपालमा कार्यरत छन् । उनीहरूले डीएनए सङ्कलन, विश्लेषण तथा प्रतिवेदन तयार गर्ने कामलाई तीव्रता दिएका छन् । सिङ्गापुर डीभीआई टोलीका बाँकी सदस्य ड्रोन तथा आवश्यक सामग्रीसहित बिहीबार र शुक्रबार नेपाल आइपुग्नेछन् ।
विपद्प्रभावित क्षेत्रमा राहत सामग्री परिचालन भइरहेको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय साझेदारमार्फत थप राहत तथा उद्धार सामग्रीसमेत जुटाउने प्रयास भइरहेको छ ।
नेपालले उच्च क्षमताका ड्रोन, लाइडार, बेली ब्रिज, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, शव व्यवस्थापनका झोला, बाढी उद्धार ट्रक, मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणाली, ग्राउन्ड पेनेट्रेटिङ राडार, उच्च सटिकताका लेजर मिटर, ब्रोडब्यान्ड सिस्मोमिटर, उच्च क्षमताको स्लज पम्प तथा प्रयोगशाला फ्रिजरलगायत सामग्रीका लागि अन्तर्राष्ट्रिय सहयोग मागेको छ ।
मन्त्रालयले भारत, चीन, बेलायत, जापान, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, सिङ्गापुर, कोरिया गणतन्त्र, अष्ट्रेलिया, जर्मनी, लाटभिया, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्याण्ड र न्युजिल्याण्डसहित युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय साझेदारप्रति सहयोगका लागि आभार व्यक्त गरेको छ ।











