Kathmandu Press

चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने। 
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं, भदाै १७ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार साथमा रहेको बताएका छन्।

परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए । सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको उनको भनाइ थियो।

‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने। 

खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएको उनले जानकारी दिए। उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्ति र स्रोतको कुनै कमी हुन नदिइएको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताए।

सरकारले कठिन परिस्थितिमा पनि खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले परिवारजनलाई धैर्य नगुमाउन आग्रह गरे। 

‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ । अझै आशा मार्ने बेला भएको छैन । प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौँ,’ उनले भने।

मन्त्री श्रेष्ठले सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको उल्लेख गर्दै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, भदौ १७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्