कोरोनालाई जितेकी युवती भन्छिन्, ‘म गर्भवतीले त पाँच दिनमै जितेँ, डराउनु पर्दैन, मरिँदैन्’
चितवन, जेठ १९ : कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको पाँच दिनमै निको भएर घर फर्किएकी हेटौँडाकी २५ वर्षीया युवतीले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको....

चितवन, जेठ १९ : कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको पाँच दिनमै निको भएर घर फर्किएकी हेटौँडाकी २५ वर्षीया युवतीले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताएकी छन्।
पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, 'कोरोना सङ्क्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो, आत्मबल बलियो बनाउनुस्, छिट्टै निको हुन्छ।'
आफूलाई कोरोना सङ्क्रमण भएको भान नभएको बताउँदै उनले सङ्क्रमणसमेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताइन्। आफूहरु लकडाउनको समयमा र त्यसअघि पनि खासै कतै नगएको भएपनि कोरोना सङ्क्रमण देखिएर त्यसलाई जित्न सफल भएको उनको भनाइ थियो।
कोरोना सङ्क्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उनको तर्क थियो। उनले भनिन्, 'कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन। म गर्भवती हुँदा त चार पाँच दिनमै नै जाती भएँ। तपाईँहरु पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ।'
कोरोना सङ्क्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाहबमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुने उनको भनाइ थियो। उनी जेठ ९ गते चितवनबाट हेटौंडा घर गएकी थिइन्। उनलाई जेठ १० गते क्वारेन्टिनमा राखिएको थियो।
त्यसपछि स्वाबको नमुना लिइएको थियो। गर्भवती भएकाले नमुना लिएपछि घर पठाइएको थियो। परीक्षण रिपोर्ट आउँदा पोजिटिभ देखिएपछि अस्पताल पुगेकी थिइन्।
भरतपुर अस्पतालको सेवा सुविधाबाट आफू सन्तुष्ट रहेको उनले बताइन्। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको नमूना लिइएको एक सातापछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो। नतिजा नेगेटिभ आएपछि उनलाई आइतबार घर पठाइएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीले कोरोना सङ्क्रमण निको भए पनि थप १४ दिन घरमै सुरक्षित बस्न आग्रह गरे। समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत उनले सुझाव दिए।
अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले गर्भवती भएको समयमा कोरोना देखिए बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे। भरतपुर अस्पतालमा यसअघि पूर्वी चितवनको राप्ती नगरपालिकाका आमाछोरा पनि कोरोना जितेर फर्किसकेका छन्।
अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना विशेष अस्पतालमा चार जना सङ्क्रमित राखी उपचार गराइराखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए। (रासस)











