Kathmandu Press

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित

‘अहिले प्राप्त भएको तथ्यांक तलमाथि छ, यसको अन्तिममा सही तथ्यांक प्राप्त होला । तर दुःख र पीडाको गहनता हामी सबैले महसुस गरेका छौँ,‘ उनले भने।
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित

काठमाडौं, भदाै १६ : भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोक, रसुवा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थान चुनौतीपूर्ण बन्ने देखिएको छ। 

बाढीबाट होटल, सवारीसाधन, सम्पदा तथा प्रमुख पर्यटकीय पदमार्गमा क्षति पुगेपछि पर्यटन व्यवसायलाई सामान्य अवस्थामा फर्काउन सरकारले पुनःस्थापना र पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिएको हो।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक विवरणअनुसार बाढीबाट १४२ वटा होटल, ५७ वटा साना होटल र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधनमा क्षति पुगेको जानकारी दिए।

त्यस्तै, २७ वटा सम्पदामा क्षति पुगेको तथा लाङटाङ, गोसाइँकुण्डलगायतका पदमार्गसमेत प्रभावित भएको उनले बताए। मन्त्री पौडेलका अनुसार अहिले प्राप्त तथ्यांक प्रारम्भिक भएकाले क्षतिको वास्तविक विवरण थप अध्ययनपछि मात्रै यकिन हुनेछ। 

‘अहिले प्राप्त भएको तथ्यांक तलमाथि छ, यसको अन्तिममा सही तथ्यांक प्राप्त होला । तर दुःख र पीडाको गहनता हामी सबैले महसुस गरेका छौँ,‘ उनले भने।

बाढीबाट पर्यटकीय पूर्वाधारमा परेको क्षतिले तत्कालीन पर्यटन गतिविधिमात्र प्रभावित नभई स्थानीयस्तरमा पर्यटनमा निर्भर रोजगारी र आम्दानीमा समेत असर पार्ने देखिएको छ। होटल, यातायात, पदयात्रा तथा स्थानीय व्यवसाय पर्यटनसँग प्रत्यक्ष जोडिएकाले पूर्वाधार पुनःस्थापना नहुँदासम्म व्यवसाय सामान्य अवस्थामा फर्किन कठिन हुने अवस्था छ।

विशेषगरी लाङटाङ र गोसाइँकुण्डजस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्यतर्फ जाने पदमार्गमा क्षति पुग्नुले आगामी पर्यटन सिजनमा पर्यटक आवागमन प्रभावित हुन सक्ने जोखिम बढाएको छ। पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार तत्काल पुनःनिर्माण गर्न नसके प्रभावित क्षेत्रको पर्यटन व्यवसायले लामो समयसम्म आम्दानी गुमाउनुपर्ने अवस्था आउन सक्छ।

सरकारले भने अहिले उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेको छ। बाढीपछिको अवस्थालाई सम्बोधन गर्न विभिन्न विषयगत मन्त्रालयसँग समन्वय भइरहेको र विशेषगरी गृह मन्त्रालयसँगको समन्वयमा उद्धार तथा राहतका काम अघि बढाइएको मन्त्री पौडेलले बताए।

अब उद्धार तथा राहतपछि प्रभावित पर्यटन पूर्वाधारको विस्तृत क्षति मूल्यांकन, पुनर्निर्माणको लागत निर्धारण र व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउने विषय महत्वपूर्ण बन्ने देखिएको छ। त्यसका लागि संघीय सरकारसँगै स्थानीय तह र निजी क्षेत्रबीच समन्वय आवश्यक देखिन्छ। 

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, भदौ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्