Kathmandu Press

रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन : गृहमन्त्री गुरुङ

‘यहाँ दलदल छ, दलदलमा कसरी गएर गर्ने भन्ने अवस्था छ। त्यैपनि क्रल गर्दै जानुहुन्छ। गएपछि बडी तानेर ल्याउनुपर्‍यो, दलदलमा फसिएला भन्ने अर्को डर छ । यस्तो हुँदाहुँदै पनि हाम्रा सुरक्षाकर्मीहरूले काम गरिरहनुभएको छ,’ उनले भने।
रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन : गृहमन्त्री गुरुङ

काठमाडौं, भदाै १६ : गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीपछि उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।

मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कक्षमा आयोजित रसुवा बाढीसम्बन्धी प्रेस ब्रिफिङमा बोल्दै गृहमन्त्री गुरुङले बाढीबाट भएको क्षतिको स्तर अत्यन्त ठूलो रहेको बताए।

बाढीपछि शव उद्धारमा ढिलाइ भएको गुनासोप्रति प्रतिक्रिया दिँदै उनले घटनास्थलमा दलदलका कारण सुरक्षाकर्मीलाई उद्धार कार्यमा कठिनाइ भइरहेको बताए । उनले कठिन परिस्थितिका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर शव तथा प्रभावितको उद्धारमा काम गरिरहेको उल्लेख गरे।

‘यहाँ दलदल छ, दलदलमा कसरी गएर गर्ने भन्ने अवस्था छ। त्यैपनि क्रल गर्दै जानुहुन्छ। गएपछि बडी तानेर ल्याउनुपर्‍यो, दलदलमा फसिएला भन्ने अर्को डर छ । यस्तो हुँदाहुँदै पनि हाम्रा सुरक्षाकर्मीहरूले काम गरिरहनुभएको छ,’ उनले भने।

गृहमन्त्री गुरुङले पूर्वसूचना प्रणालीमार्फत करिब ९ः५० बजे सबैलाई सन्देश पठाइएको र त्यसपछि सुरक्षाकर्मी परिचालन गरी नदी किनार तथा करिडोर क्षेत्रमा माइकिङ गरिएको बताए । माइकिङ गर्ने क्रममा ६ जना सुरक्षाकर्मीसमेत बाढीमा बगेको उनले जानकारी दिए।

उनले सुरक्षाकर्मी पनि नेपाली नागरिक भएको भन्दै उनीहरूको अवस्थाबारे समेत चासो दिन आग्रह गरे।

‘उहाँहरू सुरक्षाकर्मी भए पनि देशका नागरिक हुन् । कसैले उहाँहरूको अवस्था के छ, परिवारको अवस्था कस्तो छ भनेर सोधेको छैन। उहाँहरू पनि नेपाली नागरिक नै हुन् । त्यैपनि राज्यको ब्याकबोनको हिसाबले आफ्नो जिम्मेवारी पूर्णरूपमा पालना गरिरहनुभएको छ,’ उनले भने।

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा राहत पुर्‍याउन राज्यका सबै हेलिकप्टर तथा उपलब्ध संयन्त्र परिचालन गरिएको बताए । उनले राज्य आफ्नो कर्तव्यबाट पछि नहट्ने स्पष्ट पार्दै कुनै स्थानमा राहत नपुगेको भए सरकारलाई जानकारी गराउन आग्रह गरे ।

‘राहतका लागि हामीले सबै हेलिकप्टरको प्रयोग गरेका छौँ । राज्य कुनै पनि आफ्नो कर्तव्यबाट पछाडि हट्नेवाला छैन । भएभरको संयन्त्र हामीले परिचालन गरेका छौँ । राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा हामीलाई म्यासेज गरिदिनुहोला,’ उनले भने ।

प्रकाशित मिति: १९:४४ बजे, मंगलबार, भदौ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्