पुतलीबजारले जनप्रतिनिधिदेखि राष्ट्रसेवकसम्मको सहकार्यमा २७ लाख बढी सहयाेग गर्ने

काठमाडौं, भदाै१६ : रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको पीडामा पुतलीबजार नगरपालिका सहयात्री बनेको छ। विपद्को कठिन घडीमा राहत तथा पुनर्स्थापनाका लागि नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सेवा–सुविधाबाट सहयोग जुटाउनुका साथै वस्तुगत सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको सेवा सुविधाबाट रु. ३ लाख ८८ हजार ७५०, नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवकहरूको तलबबाट रु. १२ लाख ५१ हजार १०८ तथा रु. ११ लाख बराबरको वस्तुगत सहायता गरी कुल रु. २७ लाख ३९ हजार ८५८ बराबरको सहयोग बाढीपीडितका लागि उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको बैठकले गरेको उक्त निर्णयले विपद् व्यवस्थापनलाई केवल प्रशासनिक जिम्मेवारीका रूपमा नभई मानवीय दायित्व र सामाजिक उत्तरदायित्वका रूपमा आत्मसात् गरेको सन्देश दिएको छ।
जनप्रतिनिधि, कर्मचारी तथा राष्ट्रसेवकहरूले आफ्नो सेवा–सुविधाबाट समेत योगदान गर्नुले संकटका बेला स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई थप अर्थपूर्ण बनाएको छ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने तथा वस्तुगत सहायता बापतको रकमबाट दैनिक उपभोग्य सामग्री खरिद गरी उपलब्ध गराउने निर्णय गरिएको छ। यसबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै राहत र पुनर्स्थापनाको प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।











