Kathmandu Press

बाँके दुर्घटना : दुई जनाको सनाखत, अधिकांश यात्रु कर्णालीका

नेपालगञ्ज, जेठ १९ : गएराति बाँकेमा भएको सडक दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। अधिकांश यात्रु कर्णाली प्रदेशका वासिन्दा....

बाँके दुर्घटना : दुई जनाको सनाखत, अधिकांश यात्रु कर्णालीका

नेपालगञ्ज, जेठ १९ : गएराति बाँकेमा भएको सडक दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। अधिकांश यात्रु कर्णाली प्रदेशका वासिन्दा भएको जनाएको छ।

आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा रोकिएको बा ४ ख ९०६४ नम्बरको ट्रकसँग भारतबाट आएका यात्रु चढेको फोर्स गाडी ठोक्किएको थियो। भारतबाट आएका यात्रु चढेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी ठोक्किदा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

दुर्घटनामा मृत्यु भएकामध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अझै मृतक १० यात्रुको सनाखत हुन बाँकी छ।

प्रहरीका अनुसार, मृतक भएका अधिकांश कर्णाली प्रदेशका छन्। उनीहरु दाङ जाँदै सल्यानतिर गइरहेका थिए। प्रहरीका अनुसार, सुर्खेतका तीन, सल्यानका ६, दाङका दुई र रोल्पाका एक जना रहेका छन्।

उनीहरुमध्ये ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सबैको शव भेरी अस्पतालमा राखिएको छ।

दुर्घटनामा २१ जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: ०९:५२ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्