Kathmandu Press

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा

‘नेपाली कांग्रेस पार्टीले विपद्को बेलामा सरकारसँग काँधमा काँध मिलाएर आफ्ना कदमहरू अगाडि बढाउँछ। हामीले पूर्ण रूपमा साथ दिने हाम्रो कर्तव्य हो। हामी गर्छौं, गरिरहेका छौँ र थप गर्छौं,’ उनले भने।
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन्। साथै, प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमजोरी र सुधार गर्नुपर्ने पक्ष औँल्याउनु पनि कांग्रेसको जिम्मेवारी रहेको उनले बताए।

भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र आगामी योजनाबारे आयोजित छलफल कार्यक्रममा थापाले विपद्का बेला सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नु कांग्रेसको कर्तव्य भएको बताए।

‘नेपाली कांग्रेस पार्टीले विपद्को बेलामा सरकारसँग काँधमा काँध मिलाएर आफ्ना कदमहरू अगाडि बढाउँछ। हामीले पूर्ण रूपमा साथ दिने हाम्रो कर्तव्य हो। हामी गर्छौं, गरिरहेका छौँ र थप गर्छौं,’ उनले भने।

सरकारलाई सहयोग गर्नुका साथै प्रमुख प्रतिपक्षी दलका रूपमा सरकार कहाँ चुकेको छ भन्ने विषय औँल्याउनु पनि आफ्नो जिम्मेवारी भएको थापाको भनाइ छ।

‘सरकार कहाँनिर चुकेको छ, चुकेको ठाउँ बताउने पनि हाम्रो कर्तव्य हो। कमीकमजोरी कहाँनिर भएको छ, देखाउने र कहाँनिर सुधार गर्नुपर्ने हो, त्यो बताउने पनि हाम्रो कर्तव्य हो,’ उनले भने।

सरकारका कमजोरीबारे खबरदारी नगरे एकोहोरो ढंगले काम हुने र विपद्मा परेका नागरिकका वास्तविक समस्या सरकारसम्म नपुग्ने उनले बताए। 

‘ती कुराहरू बताइएन भने फेरि एकमन ढंगले जान्छ । भुइँमान्छेका कुराहरू सरकारसँग पुग्दैनन्,’ थापाले भने।

थापाले कांग्रेसले यसअघि सरकारसमक्ष बुझाएको नौबुँदे ध्यानाकर्षण पत्रलाई पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्नेमा समेत जोड दिए । उनले विपद्को समयमा सरकारले ती नौवटै बुँदालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

विपद् व्यवस्थापनमा संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने थापाको भनाइ छ। प्रदेश तथा स्थानीय सरकारले काम गरिरहेको भए पनि तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।

‘विपद्को यो घडीमा संघको सरकार जत्तिकै महत्वपूर्ण भूमिका प्रदेश सरकार र स्थानीय सरकारले पनि निर्वाह गर्नुपर्छ। उनीहरूले गरिरहेका पनि छन् । तर समन्वय हुँदै गर्दा काम गर्यो भने प्रभावकारी परिणाम आउँछ,’ उनले भने।

प्रकाशित मिति: १३:४८ बजे, आइतबार, भदौ १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्