बाढीपीडितका लागि अर्जुनचौपारीको सहयोग अभियान, पालिकाबासीलाई सहयोगको अपिल
भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट आएको लेदोसहितको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति भएको भन्दै गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
स्याङ्जा, भदौं ११ : अर्जुनचौपारी गाउँपालिकाले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा बाढीका कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट आएको लेदोसहितको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति भएको भन्दै गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार विपद्को अवस्थामा मानवीय सहायता स्वरूप गाउँपालिकाको तर्फबाट रु। १ लाख सहयोग गर्ने निर्णय गरिएको छ। साथै गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले समेत व्यक्तिगत रूपमा स्वेच्छिक रकम संकलन गरी विपद् कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ।
अभियानबारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष तिवारीले विपत्तिको समयमा छुट्टाछुट्टै भन्दा स्थानीय सरकारको नेतृत्वमा एकमुष्ट सहयोग उठाउँदा सिङ्गो पालिकावासीको साझा ऐक्यबद्धता देखिने र राहत कोषमा पनि ठूलो योगदान पुग्ने बताए ।
अर्जुनचौपारी गाउँपालिकाले विपद्का कारण पीडामा परेका नागरिकलाई सहयोग गर्न गाउँपालिकावासी, आसपासका क्षेत्रका बासिन्दा, स्वदेश तथा विदेशमा रहेका इच्छुक व्यक्ति, संघ–संस्था, समाजसेवी तथा व्यवसायीलाई समेत सहयोगका लागि अपिल गरेको छ।
गाउँपालिकाले विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने भएकाले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने जनाएको छ। विपद्को समयमा सबै पक्ष एकजुट भएर सहयोगको हात बढाउन आग्रह गर्दै गाउँपालिकाले संकलित रकम सम्बन्धित बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि उपयोग गर्ने जनाएको छ।