राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न राप्रपाको अपिल
‘विपद् व्यवस्थापनमा अहिले सबैभन्दा ठूलो समस्या हराइरहेका मानिसहरू हुन्। नेटवर्कहरूले काम गरिरहेका छैनन्। मानिसहरू कहाँ छन् भन्ने अत्तोपत्तो छैन। त्यसका लागि राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न अपिल गरेका छौं,’ उनले भने।
काठमाडौं, भदाै ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री राहत कोषलाई अझ व्यापक बनाउँदै त्यसको प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने बताए।
उनले राहत व्यवस्थापनमा पारदर्शिता कायम गर्दै सबै पक्षलाई एउटै ‘वान डोर सिस्टम’मार्फत परिचालन गर्नुपर्ने धारणा राखे।
शाहीले अहिलेको विपदमा सबैभन्दा ठूलो समस्या बेपत्ता भएका मानिसहरूको खोजी तथा उद्धार रहेको बताए। प्रभावित क्षेत्रमा सञ्चार सञ्जालले काम नगर्दा मानिसहरू कहाँ छन् भन्ने जानकारीसमेत पाउन कठिन भइरहेको उनको भनाइ थियो।
‘विपद् व्यवस्थापनमा अहिले सबैभन्दा ठूलो समस्या हराइरहेका मानिसहरू हुन्। नेटवर्कहरूले काम गरिरहेका छैनन्। मानिसहरू कहाँ छन् भन्ने अत्तोपत्तो छैन। त्यसका लागि राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न अपिल गरेका छौं,’ उनले भने।
शाहीले विपद्का बेला केही व्यक्तिबाट देखिएको अमानवीय गतिविधिप्रति पनि आपत्ति जनाए। उनले मृतकको शवबाट समेत सुनलगायतका सामान निकाल्ने गतिविधि भएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरिएको बताए।
‘अहिले सारा नेपाली र संसार रोइरहेको छ। तर केही हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको जुन व्यवहार देखिएको छ, लासलाई समेत नछाड्ने, सुन तान्ने खालको गतिविधि भएको छ,’ उनले भने।
भिडियोमार्फत सार्वजनिक भएका यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरिएको शाहीले बताए। यस्ता घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि र प्रतिष्ठामा समेत असर पुगिरहेको उनको भनाइ थियो।











