Kathmandu Press

भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको ‘भोटेकोशी आकस्मिक बाढी अवस्था अद्यावधिक–२’ अनुसार प्रभावित क्षेत्रमा रहेका तथा यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पहिचान तथा पुष्टि गर्ने काम भइरहेको छ ।
भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

काठमाडौं, भदाै १० : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको ‘भोटेकोशी आकस्मिक बाढी अवस्था अद्यावधिक–२’ अनुसार प्रभावित क्षेत्रमा रहेका तथा यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पहिचान तथा पुष्टि गर्ने काम भइरहेको छ।

पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन्। बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सम्बन्धित निकायले ट्राभल एजेन्सी, पथप्रदर्शक, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरणको प्रमाणीकरण तथा पुनःपुष्टि गरिरहेको जनाएको छ।

प्रारम्भिक विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना यात्रु सम्पर्कविहीन छन्। तीमध्ये ५९ जना भारतीय नागरिक र १२ जना नेपाली छन्।

त्यस्तै, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जनामध्ये दुई जना विदेशी नागरिक (एक अस्ट्रेलियाली र एक नेदरल्यान्ड्सका) तथा १५ जना नेपाली नागरिक छन्।

लिफ होलिडेका ५५ जनामध्ये ४६ जना भारतीय र नौ जना नेपाली, कैलाश जर्नीका ३१ जनामध्ये २६ जना विदेशी नागरिक (राष्ट्रियता पुष्टि हुन बाँकी) र पाँच जना नेपाली रहेको बोर्डले जनाएको छ।

एक्सप्लोर भ्याकेसनका सात जना यात्रु सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ। ट्रेकर्स सोसाइटीका ९२ जनामध्ये ७७ जना विदेशी नागरिक (राष्ट्रियता पुष्टि हुन बाँकी) र १५ जना नेपाली छन्।

त्यस्तै, रिचा टुर्स एन्ड ट्राभल्सका १२ जनामध्ये आठ जना विदेशी नागरिक र चार जना नेपाली, फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जनामध्ये २० जना विदेशी तथा सात जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

हिमालयन ग्लेसियरका ५२ जनामध्ये ३७ जना विदेशी नागरिक र १५ जना नेपाली तथा अल्पाइन इको ट्रेकका २० जनामध्ये १६ जना विदेशी र चार जना नेपाली नागरिक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार हिमालयन ग्लेसियरमा सम्पर्कविहीन देखिएका ३७ जनामध्ये केही भारतीय मूलका नागरिक रहेको र अल्पाइन इको ट्रेकका १६ विदेशीमध्ये १२ जना बेलायती तथा चार जना दक्षिण अफ्रिकी नागरिक रहेको प्रारम्भिक विवरण छ।

नेपाल पर्यटन बोर्डले यो विवरण प्रारम्भिक रहेको र सम्बन्धित निकायसँग समन्वय गरी निरन्तर अद्यावधिक तथा प्रमाणीकरण भइरहेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुलाई शान्त रहन, आधिकारिक सूचना मात्र पछ्याउन र सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ।

आपत्कालीन अवस्थाका लागि निःशुल्क आपत्कालीन नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

सम्बन्धित व्यक्तिले नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, यात्रा कम्पनी, पथप्रदर्शक वा भ्रमण सञ्चालकसँग समेत सम्पर्क गर्न सक्ने बोर्डले जनाएको छ।

प्रकाशित मिति: १८:११ बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्