Kathmandu Press

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ओलीको आह्वान

ओलीले हालसम्म क्षतिको पूर्ण विवरण प्राप्त नभए पनि ठूलो संख्यामा महिला, बालबालिका, विद्यार्थी, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएको र धेरै जना घाइते भएको बताएका छन् ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ओलीको आह्वान

काठमाडौं, भदाै १० : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

बुधबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार र राहतमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न माग गरेको हो ।

ओलीले हालसम्म क्षतिको पूर्ण विवरण प्राप्त नभए पनि ठूलो संख्यामा महिला, बालबालिका, विद्यार्थी, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएको र धेरै जना घाइते भएको बताएका छन् । उनका अनुसार रसुवाको टिमुरे बजारसहितका क्षेत्रमा सयौँ घर तथा पसल, पशुपन्छी, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत्गृह तथा सबस्टेसन र कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा पूर्वी नवलपरासीका नदी तटीय क्षेत्र अझै उच्च जोखिममा रहेको ओलीले बताएका छन् । उनले नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

‘विपतमा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व हो,’ ओलीले भनेका छन्, ‘नागरिकको ज्यान बचाउन, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार गर्न, जोखिममा परेकालाई स्थानान्तरण र पुनःस्थापना गर्न तथा घाइतेको तत्काल उपचारका लागि विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधनस्रोत र विकल्प अविलम्ब परिचालन गर्नुपर्छ ।’

ओलीले तत्कालीन तथा दीर्घकालीन राहतको प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था तथा आमनागरिकबीच एकीकृत सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।

बाढीमा फसेकाको तत्काल उद्धार, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावितलाई द्रुत रूपमा राहत सामग्री उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने ओलीको अपिल छ ।

साथै, एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न ओलीले निर्देशन दिएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी मानवीय सहायताका कार्यमा अग्रपंक्तिमा रहेर खटिन उनले आग्रह गरेका छन् ।

‘सरकारले कुनै पनि बहानामा अलमल नगरी उद्धार कार्यमा तदारुकता देखाउन र विलम्ब नगरी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पु¥याउन पुनः जोडदार आह्वान गर्दछु,’ ओलीले भनेका छन् ।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्