Kathmandu Press

विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर हुँदा समस्या भोग्नुपर्यो : सांसद कँडेल 

‘सरकारले अहिलेको गम्भीर क्षतिमा राहत, पुनस्र्थापना, उद्धार र पुनर्निर्माणमा पूर्ण रूपमा लाग्नुपर्छ,’ उनले भने, ‘प्रतिपक्षी दलका तर्फबाट यस कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर हुँदा समस्या भोग्नुपर्यो : सांसद कँडेल 

काठमाडौं, भदाै १० : नेकपा एमालेका सांसद पुष्पराज कँडेलले चीनको तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कँडेलले बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै प्रभावित क्षेत्रमा गम्भीर मनोवैज्ञानिक असरसमेत परेको बताए ।

उनले धादिङमा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न स्थानमा पुलहरू बगाएको र सदरमुकामसँगको सम्पर्कसमेत विच्छेद भएको छ ।

कँडेलले नुवाकोटमा भन्दा रसुवामा बढी क्षति भएको अनुमान गर्न सकिने बताए । विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै पुनस्र्थापना र पुनर्निर्माणका काममा सरकारले पूर्ण रूपमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘सरकारले अहिलेको गम्भीर क्षतिमा राहत, पुनस्र्थापना, उद्धार र पुनर्निर्माणमा पूर्ण रूपमा लाग्नुपर्छ,’ उनले भने, ‘प्रतिपक्षी दलका तर्फबाट यस कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

सांसद कँडेलले भविष्यमा हिमाली क्षेत्रमा हिमताल फुट्ने तथा त्यसबाट ठूलो बाढी आउने सम्भावनालाई ध्यानमा राख्दै सरकारले पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने बताए ।

हिमताल फुट्ने जोखिमबारे इसिमोडलगायत विभिन्न अध्ययन तथा सर्वेक्षणले यसअघि नै सचेत गराउँदै आए पनि पर्याप्त तयारी हुन नसकेको उनले बताए । पूर्वसूचना, जोखिम पहिचान तथा विपद् व्यवस्थापनका लागि राज्यले थप प्रभावकारी तयारी गर्नुपर्ने उनको भनाइ छ ।

कँडेलले पछिल्लो बाढी अपेक्षा नै नगरेको स्तरमा आएको उल्लेख गर्दै कतिपय स्थानमा मानिसहरूले बाढी त्यहाँसम्म नआउने अनुमान गरिरहेका बेला अचानक बाढी आएर क्षति पुर्याएको जानकारी आएको बताए ।

उनले पछिल्लो घटनाबाट पाठ सिक्दै भविष्यमा आउन सक्ने यस्ता ठूला विपद्को सामना गर्न आवश्यक पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: १५:५४ बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्