उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहत कार्य अघि बढाइएको उनले उल्लेख गरेका छन् ।
काठमाडौं, भदौ १० : प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताएका छन् ।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहत कार्य अघि बढाइएको उनले उल्लेख गरेका छन् । अतिरिक्त एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि अघि बढिसकेको छ ।
बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन् । स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत सूचना दिई सुरक्षित स्थानमा जान अलर्ट गरिएको जनाइएको छ ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई प्रभावित क्षेत्रतर्फ पठाइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको र केही निजी हेलिकप्टर प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको प्रधानमन्त्री शाहले बताएका छन् ।
आगामी आवश्यक कदमबारे निर्णय लिन उच्चस्तरीय बैठक बोलाइएको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी अपडेट कुर्न आग्रह गरेका छन् । थप जानकारी तथा राहतसम्बन्धी समन्वयका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन् ।











