विष्णु पौडेलले भने- बजेट यथार्थपरक र नेकपाको चुनावी घोषणपत्र अनुसारकै छ
काठमाडौं, जेठ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने तथा निर....

काठमाडौं, जेठ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने तथा निर्वाचनमा नेकपाले प्रस्तुत गरेको घोषणापत्र अनुसरण गर्ने प्रतिबद्धताका साथ आगामी आर्थिक वर्षको बजेट आएको बताएका छन्।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले बजेटले अहिलेको समस्या समाधान गर्ने आधार सिर्जना गरेको र दीर्घकालीन लक्ष्य हासिल गर्न केन्द्रित भएको बताए। उनले स्रोत व्यवस्थापन र विनियोजनको दृष्टिकोणले पनि बजेट यथार्थपरक रहेको बताए।
“बजेटले आजको चुनौती सामना गर्ने लक्ष्यमात्र लिएको छैन, आर्थिक क्रियाकलापको विकासमार्फत दिगो विकासमा लाग्ने सङ्कल्प गरेको छ, यसले अधिकतम प्रतिफल दिन्छ भन्ने मेरो ठम्याइँ छ”, नेकपाका महासचिव समेत रहेका उनले भने। बजेटप्रति आफ्नो दृढ समर्थन रहेको उल्लेख गर्दै उनले नागरिकको जीवन रक्षा जस्तो महत्वपूर्ण मुद्दा बजेटमा समेटिएको बताए।
विकासमा निरन्तरता, लोककल्याणकारी राज्य, आर्थिक पुनःउत्थानका साथै स्वाधीन तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण बजेटको लक्ष्य भएको उनले बताए।
पूर्वअर्थमन्त्री पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनबाट आजको चुनौतीको सामना गर्न र संविधानमार्फत देखेको समाजवादको सुन्दर भविश्यतर्फ आफ्ना कदमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन समर्थ हुने विश्वास व्यक्त गरे।
गत वर्षको तुलनामा आगामी आवको बजेट चार प्रतिशतले कमी भए पनि यसले आजको यथार्थतालाई स्वीकार गरेको उनले बताए। आन्तरिक राजश्वलाई बजेटले आफ्नो स्रोतको मुख्य आधार मानेको उनको भनाइ थियो।
आर्थिक वृद्धि सात प्रतिशत र मुद्रास्फीति सात प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले बजेटले लिएको लक्ष्य सराहनीय रहेको उल्लेख गरे। “बजेटले नागरिकको जीवन रक्षालाई महत्वपूर्ण मुद्दा बनाएको छ, बजेटले प्राथमिकता ठीक ढङ्गले निश्चित गरेको छ”, उनले भने।
कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामाधान गर्नु अहिलेको सर्वाधिक प्राथमिकताको विषय भएको भन्दै उनले बजेटले पनि सोही विषयलाई नै प्राथमिकता दिएको बताए। उनले कोभिड–१९ जस्तो विश्वस्तरको चुनौती नेपाल एक्लैले सामना गर्न नसक्ने हुँदा अहिलेको परिस्थितिलाई सही ढङ्गले बुझ्नु सबैलाई आग्रह गरे।
उनले बजेटमा आगामी आर्थिक वर्षमा ४० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने र आगामी तीन वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने विषय समेटिएको बताए।











