Kathmandu Press

सांसद गच्छदारको प्रश्न– एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ?

 ‘हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने? न घरमा सुरक्षित छन्, न बाटोमा, न विद्यालयमा सुरक्षित छन्, न त गाउँबस्तीमै,’ उनले भनिन्।
सांसद गच्छदारको प्रश्न– एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ?

काठमाडौं, भदौ ८ : नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले बालिकाहरू घर, बाटो, विद्यालय तथा गाउँबस्तीमा समेत असुरक्षित रहेको बताइन्।

 ‘हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने? न घरमा सुरक्षित छन्, न बाटोमा, न विद्यालयमा सुरक्षित छन्, न त गाउँबस्तीमै,’ उनले भनिन्।

उनले सप्तरीकी दुई वर्षीया खुसी खातुनको हत्या तथा बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

घटना भएपछि सडकमा आन्दोलन हुने र त्यसपछि सरकार तथा पीडित परिवारबीच विभिन्न बुँदे सहमति हुने गरेको उल्लेख गर्दै उनले यस्ता सहमतिले दीर्घकालीन न्याय सुनिश्चित गर्न नसक्ने बताइन्।

उनले गरिमाको हत्या प्रकरणमा पनि सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको उल्लेख गर्दै प्रश्न गरिन्, ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ?’

सहमति पत्रले तत्काल आन्दोलन रोक्न र राहतले क्षणिक पीडा कम गर्न सक्ने भए पनि त्यसले दीर्घकालीन न्यायको अनुभूति दिलाउन तथा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न नसक्ने उनको भनाइ थियो।

‘सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, राहतले क्षणिक पीडा त कम गर्ला । तर यसले दीर्घकालिन न्यायको अनुभूति र राज्यको विश्वास पुनःस्थापित गर्न सक्दैन,’ उनले भनिन्।

सांसद गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराधका घटनामा प्रभावकारी अनुसन्धान, दोषीलाई कानुनी कारबाही र पीडित परिवारलाई दीर्घकालीन न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेकी छन्। 
 

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, भदौ ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्