Kathmandu Press

जाजरकोट पहिरो प्रभावितको उद्धारमा सरकारको बेवास्ता : सांसद विक

जाजरकोट पहिरो प्रभावितको उद्धारमा सरकारको बेवास्ता : सांसद विक

काठमाडौं, भदाै ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले जाजरकोटमा गएको पहिरोबाट प्रभावित नागरिकहरू बिचल्लीमा पर्दासमेत सरकारले बेवास्ता गरेको भन्दै तत्काल उद्धार, राहत र आवश्यक व्यवस्थापन गर्न माग गरेकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद विकले विपद्मा परेका नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताइन्।

उनले अहिले जाजरकोटमा ८२४ जना तीन वटा होल्डिङ सेन्टरमा राखिएको जानकारी दिँदै त्यहाँ १०८ जना बालबालिका रहेको बताइन्। प्रभावित बालबालिका विद्यालय जान नपाएको, घाइतेको उपचारमा समस्या भएको तथा खाद्यान्नको अभाव भइरहेको उनले बताइन्।

सांसद विकका अनुसार प्रभावितहरू प्लास्टिकलाई पाल बनाएर बस्न बाध्य छन्। होल्डिङ सेन्टरमा रहेका ६ जना सुत्केरी र पाँच जना गर्भवती महिलाको अवस्था निकै दयनीय रहेको उनले बताइन्।

उनले भनिन्, ‘अहिले त्यहाँ ६ जना सुत्केरी छन्, उनीहरूको अवस्था बिजोग छ। पाँच जना गर्भवती महिला छन्। उनीहरू होल्डिङ सेन्टरबाहेक कतिपय आफन्तको घरमा बस्नुपरेको छ।’

विपद् प्रभावित नागरिकलाई तत्काल खाद्यान्न, सुरक्षित आवास, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनुपर्नेमा सरकार मौन बसेको भन्दै उनले प्रश्न गरिन्।

‘यो निकै गम्भीर विषय बनेको छ। यस्तो अवस्थामा सरकार किन चुप लागेर बसेको छ ? नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो कि होइन ? वा उनीहरूलाई त्यही पहिरोमा परेर मर्न दिनुपर्ने हो वा उद्धार गर्नुपर्ने हो ?’ उनले प्रश्न गरिन्।

 

सांसद विकले जाजरकोट पहिरो प्रभावितको अवस्था तत्काल सम्बोधन गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिन्।

प्रकाशित मिति: १७:१४ बजे, बुधबार, भदौ ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्