मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, त्यसअघि एमाले–नेकपाबीच छलफल
विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबिच केही बेरमा छलफल हुने नेकपाका नेता कालीबहादुर मल्लले बताएका छन् विश्वासको मत, सत्ता समीकरण तथा आगामी सरकार सञ्चालनका विषयमा दुई दलबिच छलफल हुन लागेको मल्लले जानकारी दिए।
सुर्खेत, भदौ ३ : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट तीन बजे विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबिच केही बेरमा छलफल हुने नेकपाका नेता कालीबहादुर मल्लले बताएका छन् विश्वासको मत, सत्ता समीकरण तथा आगामी सरकार सञ्चालनका विषयमा दुई दलबिच छलफल हुन लागेको मल्लले जानकारी दिए।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन्, आज बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।
विश्वासको मत लिनुअघि सत्ता साझेदार दलहरूबिच सहमति र समन्वय कायम गर्ने प्रयास भइरहेको छ। एमाले र नेकपाबिच हुने छलफललाई मुख्यमन्त्री शाहीको विश्वासको मत तथा आगामी सत्ता सञ्चालनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेपछि सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने बाटो खुल्नेछ । त्यसपछि सरकारका नीति तथा कार्यक्रम, विकास निर्माण र प्रदेशका समसामयिक समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।
यसैबिच, विश्वासको मतका पक्षमा प्रदेशसभामा रहेका दल तथा सांसदहरूको समर्थन जुटाउने विषयमा समेत छलफल भइरहेको छ । एमाले र नेकपाबिचको छलफलपछि सत्ता समीकरण तथा विश्वासको मतसम्बन्धी थप विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।











