सांसद राईको प्रश्नमा पर्यटनमन्त्रीको जवाफ – ईयूको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छ
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद निश्कल राईको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका हुन् ।
काठमाडौं, भदौं २ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा प्रयास गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद निश्कल राईको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका हुन् । मन्त्री पौडेलले ‘कालो सूची’ शब्दले नकारात्मक र विभेदकारी संकेत गर्ने उल्लेख गर्दै यसलाई प्राविधिक रूपमा ‘हवाई सुरक्षा सूची’ भन्नु उपयुक्त हुने बताए । मन्त्री पौडेलका अनुसार, युरोपेली संघले सन् २०२३ सेप्टेम्बरमा गरेको स्थलगत उडान सुरक्षा मूल्यांकनका खुला निष्कर्षहरूलाई कार्यान्वयनमा लैजान सरकार सक्रिय भएको छ ।
नेपाललाई सुरक्षा सूचीबाट हटाउन परराष्ट्र मन्त्रालयसँगको समन्वयमा कूटनीतिक प्रयासलाई पनि तीव्रता दिइएको छ । यस सिलसिलामा नेपालका लागि युरोपेली संघका राजदूत र सदस्य राष्ट्रका आवासीय तथा गैरआवासीय राजदूतहरूसँग भेटघाट गरी नेपालको सुधारका प्रयास र प्रतिवद्धताबारे जानकारी गराइएको मन्त्री पौडेलले बताए ।
सांसद राईको पूरक प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कूटनीतिक पहलले मात्र नभई वास्तविक र मापनयोग्य सुधारमार्फत हवाई सुरक्षा सूचीबाट हट्न सरकार दृढताका साथ अघि बढिरहेको बताए ।











