नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
सरकार विस्तारसँगै एमालेबाट यसअघि जिम्मेवारीमा रहेका केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ। यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माेरङ, भदाै १ : नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा र नेकपा (एमाले)बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नयाँ कार्यविभाजनअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री रहेका छन्।
नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । नेकपाका गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन, जीवन आचार्यले भौतिक पूर्वाधार विकास, गीता तिम्सिनाले सामाजिक विकास तथा खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। नेकपाकै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
सरकार विस्तारसँगै एमालेबाट यसअघि जिम्मेवारीमा रहेका केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ। यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, सामाजिक विकास मन्त्री रहेका रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत राखिएको छ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराएका छन् । राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीले नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।
नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेशमा एमाले र नेकपा सत्ता साझेदार दल बनेका छन् । नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी टुंगिएसँगै प्रदेश सरकारको संरचना पूर्ण भएको छ।











