Kathmandu Press

रिटर्नीको सीप, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : शंकर पोखरेल

पोखरेलले विदेशमा रहेका नेपालीले आफूले काम गरेका बहुराष्ट्रिय कम्पनी तथा संस्थासँगको सम्पर्क र अनुभवमार्फत नेपालमा विदेशी पुँजी र प्रविधि भित्र्याउन ‘सूत्रधार’को भूमिका निर्वाह गर्न सक्ने बताए।
रिटर्नीको सीप, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : शंकर पोखरेल

काठमाडौं, साउन २८ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले रिटर्नीमैत्री नीति तथा कानुन निर्माण गर्नुपर्ने बताएका छन्।

‘रिटर्नीमैत्री नीति र पुनः एकीकरण स् सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले विदेशमा हासिल गरेको अनुभवलाई उद्यमशीलतामा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले रिटर्नीका अपेक्षालाई नीति र कानुनमार्फत सम्बोधन गर्नु जायज भएको उल्लेख गर्दै राष्ट्रिय नीति सही हुनुपर्ने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण हुनुपर्नेमा जोड दिए।

‘विदेशबाट फर्किएका नेपालीहरूले विदेशमा हासिल गरेको सीप, अनुभव, ज्ञान र पुँजीलाई नेपालमा उद्यमशीलताका क्षेत्रमा प्रयोग गर्न सक्ने वातावरण राज्यले बनाउनुपर्छ । त्यसका लागि रिटर्नीमैत्री नीति र आवश्यक कानुन निर्माण गर्न जरुरी छ। राष्ट्रिय नीति सही हुनुपर्छ र त्यसलाई कार्यान्वयन गर्न कानुन पनि त्यहीअनुसार बन्नुपर्छ । रिटर्नीहरूले उठाएका विषयलाई नीति र कानुनमार्फत सम्बोधन गर्ने प्रयास सकारात्मक छ,’ उनले भने।

उनले रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार तथा नयाँ कानुनको आवश्यकताबारे थप विस्तृत छलफल गर्नुपर्ने बताए । पुँजी परिचालन, प्रविधि भित्र्याउने तथा त्यसको उपयोग गर्ने विषयमा समेत गहन विमर्श आवश्यक रहेको उनको भनाइ थियो।

पोखरेलले विदेशमा रहेका नेपालीले आफूले काम गरेका बहुराष्ट्रिय कम्पनी तथा संस्थासँगको सम्पर्क र अनुभवमार्फत नेपालमा विदेशी पुँजी र प्रविधि भित्र्याउन ‘सूत्रधार’को भूमिका निर्वाह गर्न सक्ने बताए। राज्यले सहजीकरण गर्ने हो भने विदेशमा रहेका नेपालीको सञ्जालमार्फत पुँजी परिचालन तथा प्रविधि हस्तान्तरणको सम्भावना रहेको उनले बताए ।

‘रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार गर्नुपर्ने विषय छन् भने त्यसबारे छलफल गर्नुपर्छ र आवश्यकताअनुसार नयाँ कानुन पनि बनाउनुपर्छ। पुँजीलाई कसरी परिचालन गर्ने, प्रविधिलाई कसरी भित्र्याउने र त्यसको उपयोग कसरी गर्ने भन्ने विषयमा पनि थप गहन छलफल आवश्यक छ। विदेशमा रहेका नेपालीहरूले आफूले काम गरेका बहुराष्ट्रिय कम्पनी तथा संस्थासँगको अनुभव र सम्पर्कका आधारमा नेपालमा विदेशी पुँजी र प्रविधि भित्र्याउन सूत्रधारको भूमिका खेल्न सक्छन्। राज्यले सहजीकरण गर्ने हो भने विदेशमा रहेका नेपालीको सञ्जालमार्फत पुँजी परिचालन र प्रविधि हस्तान्तरणको ठूलो सम्भावना छ,’ उनले भने।

उनले विदेशमा रहेको नेपाली डायस्पोरालाई नेपालको राष्ट्रिय हित प्रवद्र्धनमा समेत उपयोग गर्न सकिने धारणा राखे। नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै उनले छिमेकीसँगको सम्बन्धसँगै फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताए।

विदेशमा रहेका नेपाली समुदायले विगतमा नेपालको हितमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै पोखरेलले भविष्यमा पनि राष्ट्रिय हितका लागि उनीहरूको सम्पर्क र सम्बन्धलाई उपयोग गर्न सकिने बताए।

त्यसैगरी, विदेशमा रहेका नेपाली युवाले हासिल गरेको ज्ञान, सीप र दक्षताको अभिलेख तयार गरी राज्यसँग जोड्नुपर्नेमा उनले जोड दिए। विदेशमा रहेका दक्ष जनशक्तिको क्षमता पहिचान गरी राष्ट्र निर्माणमा उपयोग गर्न सके राज्यले ठूलो लाभ लिन सक्ने उनको भनाइ थियो।

उनले रिटर्नीसम्बन्धी नीतिगत प्रस्ताव तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायमा बुझाउन सुझाव दिए । राज्यले अघि सारेका विधेयक तथा कानुनको समीक्षा गरी आवश्यक सुधारका लागि अवधारणापत्र तयार गरेर सांसदहरूमार्फत संसद्मा विषय उठाउन सकिने उनको भनाइ थियो ।

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, साउन २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्