म्याग्दीमा १३ वर्षीया बालिकामा डेङ्गु, सङ्क्रमित १० पुगे
म्याग्दी, जेठ १८ : म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ।
मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३....

म्याग्दी, जेठ १८ : म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ।
मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो। योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ। तीमध्ये नौ जना निको भएर घर फर्किएका छन्।
बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए। उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ। सङ्क्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सूचना अधिकारी सुवेदीले बताए।
लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिए। वर्षातको समय सुरु भएसँगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान दिनुपर्ने उनको भनाइ छ। (रासस)











