Kathmandu Press

पूर्वी पृतनामा उपरथी केसीको १४ महिने कमान्ड : चुनौतीबीच सुरक्षा व्यवस्थापन 

पूर्वी पृतनामा उपरथी केसीको १४ महिने कमान्ड : चुनौतीबीच सुरक्षा व्यवस्थापन 

काठमाडौं, साउन २७ : नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको कमान्ड सम्हाल्दै आएका उपरथी गौरवकुमार केसीले आफ्नो नेतृत्व अवधि सफलताका साथ पूरा गरेका छन् ।

२०८० साल जेठ २५ गते पूर्वी पृतनापतिको जिम्मेवारी सम्हालेका उपरथी केसीले कोशी प्रदेशको जिम्मेवारी क्षेत्रभित्र सेनाको पेसागत तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै रणनीतिक, पूर्वाधार निर्माण र सामाजिक सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका हुन् । यो पृतना कोशी प्रदेशको जिम्मेवारी क्षेत्र पनि हो । 

केसी पृतनाको कमाण्डमा देशभर भएको जेनजी पुस्ताको बिद्रोहमा आन्तरिक सुरक्षा, निर्वाचन र संवेदनशील स्थिति व्यवस्थापन गरे । नवयुवा आन्दोलनका क्रममा उत्पन्न जटिल परिस्थितिमा पूर्वी पृतनाको फौज सक्रिय रूपमा खटिएर महत्त्वपूर्ण व्यक्तिहरू तथा सरकारी एवं सार्वजनिक संरचनाहरूको सुरक्षामा ठूलो योगदान पुर्‍याएको थियो।

1000125589-1786500387.jpg
यस्तै गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुरक्षाका दृष्टिले अत्यन्तै संवेदनशील मानिएको झापा निर्वाचन क्षेत्रका साथै कोशी प्रदेशका अन्य तराई र मध्यपहाडी जिल्लाहरूमा स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन पृतना अन्तर्गतका फौजहरू विभिन्न स्थानमा तैनाथ भई जिम्मेवारी पूरा गरेका थिए। झापा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी भिडन्तका कारण चर्चामा थियो । 

हालसालै सुनसरीको देवानगञ्ज लगायतका क्षेत्रमा दुई समुदायबीच धार्मिक द्वन्द्व र भिडन्तको स्थिति उत्पन्न भई परिस्थिति अराजकतर्फ जान लागेपछि स्थानीय प्रशासनको अनुरोधमा कर्फ्यू घोषणा गरी सेना तुरुन्त परिचालन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग प्रभावकारी समन्वय गर्दै सेनाले सम्भावित ठूलो जनधनको क्षति हुनबाट रोकेर स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो । 

पूर्वी नेपालका विभिन्न स्थानमा आएका प्राकृतिक प्रकोपका बेला नेपाली सेनाले अहोरात्र खटिएर राहत तथा उद्धार कार्य सञ्चालन गर्‍यो। विशेष गरी इलाम र झापा जिल्लाहरूमा गएको बाढी, पहिरो तथा डुबानका घटनाहरूमा पृतनाको फौजले धेरै ठाउँमा उद्धार कार्य गरी नागरिकको जीउधनको रक्षा गरेको थियो।

1000125595-1786500388.jpg
यसैगरी, सैनिक जनशक्तिको कार्यक्षमता र सुरक्षा निकायहरूबीचको समन्वय बढाउन केसीको नेतृत्वमा उच्च हिमाली र जोखिमयुक्त क्षेत्रमा उद्धार क्षमता बढाउने तालिम, मनसुनजन्य प्रकोपको पूर्वतयारी तथा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो । 

जङ्गी अड्डाको ढाँचामा पृतना क्षेत्रभित्र बृहत् फोटो तथा सैन्य सामग्री प्रदर्शनी आयोजना गरी नागरिकलाई सेनाको काम-कारबाहीबारे नजिकबाट बुझ्ने अवसर प्रदान गरिएको थियो। यस्ता सामाजिक तथा सार्वजनिक प्रवर्धनका कार्यहरूले गर्दा आम जनतामा नेपाली सेनाप्रतिको भरोसा, आस्था र नागरिक-सैनिक सम्बन्ध थप मजबुत बनेको केसीको भनाई छ ।  1000125592-1786500388.jpgनेपालको राष्ट्रिय एकीकरण, इतिहास र सैनिक विरासतसँग जोडिएका सम्पदाहरूको पहिचान र संरक्षणमा उपरथी केसीको कार्यकालमा विजयपुर, सागुरी, उदयपुर र चौदण्डी गढीलगायत ऐतिहासिक क्षेत्रहरूलाई जोडेर पदयात्रा तथा निशान पदयात्रा कार्यक्रमहरूले इतिहास र वर्तमान पुस्ताबीचको सम्बन्धलाई जोड्दै सम्पदा संरक्षणमा नागरिक सहभागिता बढाउन ठूलो मद्दत पुर्‍याएको छ।

केसीकै कार्यकालमा राष्ट्रिय सुरक्षा र उत्तरी सीमा जोडिने रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको खाँदबारी-किमाथाङ्का सडक निर्माणमा सेनाले उल्लेख्य प्रगति हासिल गरेको छ । 

1000125585-1786500388.jpg
केसीले ३७ बर्षे सैनिक सेवा अवधिबाट अर्को महिना अवकाश पाउँदै छन् । २०४७ सालमा नेपाली सेनाको अफिसर बाट सैनिक सेवामा प्रवेश गरेका थिए । केसीले यसअघि नेपाली सेनाको प्रवक्ता भएर समेत काम गरिसकेका छन् । 

केसीले अवकाश पाउने भएसँगै उपरथी शक्तिजंग बस्नेतले गत सोमबारदेखि इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको नेतृत्व सम्हालिसकेका छन् ।  

प्रकाशित मिति: ०७:५० बजे, बुधबार, साउन २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्