नेपालमा पहिलोपटक लिबर्टी इन्टरनेशनल विश्व सम्मेलन सम्पन्न

काठमाडौं, साउन २६ : नेपालमा पहिलोपटक आयोजना गरिएको ४०औँ लिबर्टी इन्टरनेशनल विश्व सम्मेलन (एलआईडब्ल्यूसी २०२६) तीन दिनको अन्तर्राष्ट्रिय बहसपछि आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अगस्ट ७ देखि ९ सम्म आयोजना गरिएको सम्मेलनले व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता, उद्यमशीलता, लोकतान्त्रिक शासन, संविधान, सार्वजनिक नीति, खुला बजार, प्रविधि र डिजिटल स्वतन्त्रतामार्फत आर्थिक समृद्धिको सम्भावनाबारे विश्वव्यापी बहसलाई काठमाडौंमा केन्द्रित गरेको थियो।
‘लिबर्टी राइजिङः बिल्डिङ फ्रिडम इन अ चेन्जिङ वर्ल्ड’ भन्ने मूल अवधारणामा आयोजित सम्मेलनमा नेपालसहित विभिन्न देशका अर्थशास्त्री, लेखक, उद्यमी, नीति निर्माता, अनुसन्धानकर्ता, स्वतन्त्रता अभियन्ता तथा बौद्धिक व्यक्तित्व सहभागी भएका थिए। आयोजकका अनुसार सम्मेलनमा करिब १०० जना नेपाली तथा ५० जना अन्तर्राष्ट्रिय सहभागी, वक्ता र प्रतिनिधिहरूको उपस्थिति थियो।
सम्मेलनको औपचारिक कार्यक्रमअघि अगस्ट ६ मा काठमाडौं टुर आयोजना गरिएको थियो भने अगस्ट ८ मा सहभागी तथा विशिष्ट अतिथिका लागि अफसाइट भीआईपी डिनर आयोजना गरिएको थियो।
पहिलो दिन : नेपालको राजनीतिक तथा आर्थिक रूपान्तरणमा बहस
सम्मेलनको पहिलो दिन नेपाल केन्द्रित राजनीतिक तथा आर्थिक विषयबाट बहस सुरु भएको थियो। लिबर्टी इन्टरनेशनलका बोर्ड सदस्य पेर बाइलुन्ड र ग्लेन क्राइपले व्यक्तिगत स्वतन्त्रता, उद्यमशीलता र खुला अर्थतन्त्रको महत्वबारे धारणा राख्दै नयाँ पुस्तामा स्वतन्त्र समाज र उद्यमशीलताको भावना विकास गर्नुपर्नेमा जोड दिए।
पहिलो दिनको प्रमुख सत्रमध्ये नेपाली लेखक तथा उद्यमी सुजीव शाक्यको ‘नेपालः राजनीतिक र आर्थिक रूपान्तरण’ विषयक प्रस्तुति विशेष रह्यो। उनले नेपाललाई भारत र चीनबीचको भूपरिवेष्ठित मुलुकका रूपमा मात्र नभई दुई ठूला बजारसँग जोडिन सक्ने ‘ल्याण्ड कनेक्ट’ मुलुकका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
शाक्यले युवा जनशक्तिको वैदेशिक पलायन, सीमित रोजगारी र उत्पादनमुखी अर्थतन्त्रको अभावलाई नेपालको प्रमुख चुनौतीका रूपमा औँल्याउँदै निजी क्षेत्र, उद्यमशीलता, पूर्वाधार विकास र नीतिगत सुधारमा जोड दिए।
त्यसै दिन ‘संविधान कार्यान्वयनः चुनौती र सफलता’ विषयमा पनि छलफल भयो। संघीयताको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संस्थागत सुधार, सुशासन र राजनीतिक स्थायित्वबारे सहभागीहरूले धारणा राखे। प्रभावकारी संवैधानिक कार्यान्वयन र बलिया लोकतान्त्रिक संस्थाबिना दिगो आर्थिक विकास कठिन हुने निष्कर्षमा वक्ताहरूको जोड थियो।
दोस्रो दिन : सम्पत्ति सिर्जना, उद्यमशीलता र कर नीतिमा बहस
सम्मेलनको दोस्रो दिन बहस नेपालको राजनीतिक विषयबाट बाहिर निस्किएर विश्वव्यापी आर्थिक स्वतन्त्रता, सम्पत्ति सिर्जना, उद्यमशीलता र बजार अर्थतन्त्रतर्फ केन्द्रित भयो।
‘द वेल्थ अफ नेसन्स’, ‘आन्त्रप्रेनरसिप एन्ड मार्केट’, ‘फ्युलिङ द फ्युचर’, ‘स्टार्टअप्स पावरिङ इकोनोमिक ग्रोथ’, ‘सिभिल सोसाइटी एन्ड स्टेट कन्ट्रोल’ तथा ‘ट्याक्सेसन भर्सेस इनोभेसन’ लगायतका सत्रमा आर्थिक स्वतन्त्रता र बजारको भूमिकाबारे बहस भयो।
विशेषगरी स्टार्टअप र नयाँ उद्यमले आर्थिक वृद्धिमा खेल्न सक्ने भूमिकामाथि वक्ताहरूले आफ्ना अनुभव प्रस्तुत गरे। नेपालमा पनि युवा उद्यमशीलता, लगानीको वातावरण, निजी क्षेत्रको विस्तार र उत्पादन बढाउन अनुकूल नीतिगत वातावरण आवश्यक रहेको विषय उठ्यो।
कर नीति र नवप्रवर्तनबीचको सम्बन्ध पनि सम्मेलनको महत्वपूर्ण विषय बन्यो। वक्ताहरूले अत्यधिक नियमन तथा करको बोझले नवप्रवर्तन र उद्यमशीलतालाई कमजोर बनाउन सक्ने भन्दै आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीतिको आवश्यकता औँल्याए।
यही दिन भारतीय लेखक तथा अर्थशास्त्रीको विशेष प्रस्तुति सम्मेलनको प्रमुख आकर्षण बन्यो। भारतको आर्थिक सुधार, स्वतन्त्र बजार र उद्यमशीलतामाथि लामो समयदेखि लेख्दै र बोल्दै आएका दासले स्वतन्त्रता, आर्थिक विकास र समृद्धिबीचको सम्बन्धबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे।
उनलाई सम्मेलनमा ‘लाइफटाइम लिबर्टेरियन अवार्ड’ प्रदान गरियो। व्यक्तिगत स्वतन्त्रता, उद्यमशीलता र नागरिक जिम्मेवारीको पक्षमा दशकौँदेखि पुर्याएको योगदानको सम्मानस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी नेपालको आर्थिक स्वतन्त्रता, सुशासन र समृद्धिबारे अनुसन्धान तथा सार्वजनिक बहसमा योगदान पुर्याउँदै आएको समृद्धि फाउन्डेसनलाई ‘भ्वाइस अफ लिबर्टी अवार्ड’ प्रदान गरिएको थियो। न्युजिल्यान्डका अर्थशास्त्री तथा पूर्व अर्थमन्त्री सर रोजर डगलसलाई ‘फ्रिडम टर्च अवार्ड’ प्रदान गरिएको थियो।
तेस्रो दिन : डिजिटल युगमा स्वतन्त्रताको नयाँ बहस
सम्मेलनको अन्तिम दिनको बहस भने प्रविधि, डिजिटल स्वतन्त्रता र आधुनिक उद्यमशीलतामा केन्द्रित भयो।
‘लिबर्टीः कम्युनिकेटिङ आइडियाज इफेक्टिभ्ली’, ‘द पावर अफ डिजिटल नोमाडिज्म’, ‘डिजिटल टुल्स टु स्प्रेड लिबर्टेरियनिज्म’, ‘द केस अफ डिजिटल फ्रिडम’ लगायतका सत्रले डिजिटल युगमा स्वतन्त्रताको अवधारणा कसरी परिवर्तन हुँदैछ भन्ने विषयलाई केन्द्रमा राखे।
टोमस पालिसियो र एन डायसले डिजिटल नोमाडिज्मको सम्भावना र यसले काम, उद्यमशीलता तथा विश्वव्यापी आर्थिक गतिविधिमा ल्याइरहेको परिवर्तनबारे धारणा राखे। त्यस्तै मार्सिन ख्मिएलोव्स्कीले डिजिटल उपकरणमार्फत स्वतन्त्रतासम्बन्धी विचार र बहसलाई विश्वव्यापी रूपमा विस्तार गर्न सकिने सम्भावनाबारे प्रस्तुति दिए।
एआई तथा क्रिप्टो क्षेत्रसँगै डिजिटल स्वतन्त्रताको बहसमा सक्रियले ‘द केस अफ डिजिटल फ्रिडम’ विषयमा प्रस्तुति दिएका थिए। डिजिटल प्रविधिले नागरिकको स्वतन्त्रता, सूचना पहुँच र व्यक्तिगत अधिकारलाई कसरी प्रभावित गरिरहेको छ भन्ने विषयमा उनको प्रस्तुति केन्द्रित थियो।
तेस्रो दिनको बहसले डिजिटल स्वतन्त्रतालाई केवल प्रविधिको विषय नभई नागरिक अधिकार, आर्थिक अवसर र आधुनिक उद्यमशीलताको अभिन्न हिस्सा बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्यायो।
नेपालको आर्थिक रूपान्तरणसँग जोडियो विश्वव्यापी स्वतन्त्रताको बहस
तीन दिनको सम्मेलनको समग्र बहसलाई हेर्दा आयोजकहरूले आर्थिक रूपान्तरण, उद्यमशीलता र डिजिटल स्वतन्त्रतालाई नेपालको भविष्यसँग जोडेर प्रस्तुत गरेका थिए।
नेपालका लागि लगानी वातावरण सुधार, निजी क्षेत्रको भूमिका विस्तार, युवा उद्यमशीलता, उत्पादन वृद्धि, नीतिगत स्थिरता, संस्थागत सुधार तथा प्रविधिमैत्री अर्थतन्त्र निर्माण महत्वपूर्ण विषयका रूपमा उठे।
विश्वका विभिन्न मुलुकबाट आएका सहभागीहरूले आ–आफ्ना देशका अनुभव प्रस्तुत गर्दा नेपालले आफ्नै आर्थिक र राजनीतिक सन्दर्भअनुसार ती अनुभवबाट सिक्न सक्ने अवसरसमेत सम्मेलनले दिएको आयोजकहरूको भनाइ छ।
सम्मेलनको मूल सन्देश व्यक्तिगत स्वतन्त्रता र आर्थिक स्वतन्त्रतालाई अलग–अलग विषयका रूपमा नभई उद्यमशीलता, नवप्रवर्तन, लोकतान्त्रिक शासन र समृद्धिसँग जोडिएको समग्र अवधारणाका रूपमा अघि बढाउनु रहेको देखिएको छ।
नेपालमा पहिलोपटक लिबर्टी इन्टरनेशनलको विश्व सम्मेलन आयोजना हुनुलाई आयोजकहरूले नेपालको स्वतन्त्रता, बजार अर्थतन्त्र र आर्थिक सुधारसम्बन्धी बहसलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
तीन दिनको कार्यक्रमले नेपाललाई विश्वव्यापी लिबर्टी डिस्कोर्समा प्रत्यक्ष रूपमा जोड्नुका साथै आर्थिक नीति, उद्यमशीलता, युवा नेतृत्व, निजी क्षेत्र, डिजिटल स्वतन्त्रता र संस्थागत सुधारबारे अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने मञ्च प्रदान गरेको छ।
सम्मेलनमा उठेका विचार र अनुभवले नेपालको आर्थिक स्वतन्त्रता, लगानी वातावरण, उद्यमशीलता तथा लोकतान्त्रिक शासनसम्बन्धी सार्वजनिक बहसलाई आगामी दिनमा थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।
-1786430634.png)



-1786430634.png)






