रास्वपाकै सांसदले गरिन् सरकारको आलोचना
‘एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ। योभन्दा ठूलो विडम्बना र सरकारको गैरजिम्मेवारीपन अरू के हुनसक्छ?,’ उनले भनिन्।
काठमाडौं, साउन २५ : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले सरकारको आलोचना गरेकी छिन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारणले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न सरकारसँग माग गर्दै सरकारको चनाले ग्यासका निम्ति नागरिकले खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु सरकारको गैरजिम्मेवारीपन भएको टिप्पणी गरिन्।
‘आज घरघरमा भान्छामा साँझ–बिहानको छाक टार्न धौधौ परेको छ । सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्, आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो?,’ उनले भनिन्।
उनले देशमा उत्पादित विद्युत् खेर गइरहेका बेला खाना पकाउने ग्यासका निम्ति नागरिकले मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताइन्।
‘एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ। योभन्दा ठूलो विडम्बना र सरकारको गैरजिम्मेवारीपन अरू के हुनसक्छ?,’ उनले भनिन्।
ग्यास आपूर्तिमा पटक–पटक समस्या देखिएको अवस्थामा सरकारले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा सांसद अधिकारीको जोड थियो।ग्यासको अभावबाट नागरिकलाई राहत दिने भए इन्डक्सन चुलो वितरण गर्ने योजना तत्काल ल्याउनुपर्ने उनले माग गरिन्।
उनले विद्युतीय चुलोको प्रयोगलाई सहज र सुलभ बनाउनुपर्नेमा समेत जोड दिइन्। विद्युत् खपत बढाउने नाममा बनाइएका नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको भए त्यसबारे पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।











