Kathmandu Press

सल्यानका बेपत्ता श्रमिकको खोजी तीव्र बनाउन सांसदको आग्रह

‘घरमा ३ वर्षकी नाबालिका छोरी र गर्भवती श्रीमतीलाई छोडेर रोजगारीका लागि सल्यानको सिद्धकुमाख गाउँपालिका–२ बाट स्याङ्जाको गल्याङ नगरपालिका पुगेका युवा बलदेव बस्नेत हिजो दिउँसोदेखि आँधीखोलामा डुबेर बेपत्ता हुनुहुन्छ,’ उनले भने।
सल्यानका बेपत्ता श्रमिकको खोजी तीव्र बनाउन सांसदको आग्रह

काठमाडौं, साउन २५ : नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्ले सल्यानका युवा बलदेव बस्नेत स्याङ्जाको आँधीखोलामा डुबेर बेपत्ता भएको भन्दै उनको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का बस्नेत रोजगारीका लागि स्याङ्जाको गल्याङ नगरपालिका पुगेको र गल्याङ नगरपालिका–७ र ११ जोड्ने आँधीखोला पुल निर्माणमा श्रमिकका रूपमा कार्यरत रहेको जानकारी गराए।

‘घरमा ३ वर्षकी नाबालिका छोरी र गर्भवती श्रीमतीलाई छोडेर रोजगारीका लागि सल्यानको सिद्धकुमाख गाउँपालिका–२ बाट स्याङ्जाको गल्याङ नगरपालिका पुगेका युवा बलदेव बस्नेत हिजो दिउँसोदेखि आँधीखोलामा डुबेर बेपत्ता हुनुहुन्छ,’ उनले भने।

बस्नेतका आफन्तहरू सल्यानबाट घटनास्थल पुगेर खोजी कार्यमा जुटिरहेको भए पनि सरकारी तदारुकता र निर्माण व्यवसायी गम्भीर नभएको परिवारको गुनासो रहेको उनले बताए।

त्यस्तै, उनले पश्चिम सल्यानको बनगार र पूर्वी सुर्खेतको सिम्ता क्षेत्र लामो समयदेखि खडेरीको चपेटामा परेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराए।

किसानले अहिलेसम्म रोपाइँ गर्न नसकेको र ब्याडहरू सुकिरहेको भन्दै उनले तत्काल सुक्खाग्रस्त क्षेत्र घोषणा गरी किसानलाई राहत, बीउ तथा मल उपलब्ध गराउन माग गरे।

‘तीनै तहका सरकारको आपसी समन्वयमा तत्काल सुक्खाग्रस्त क्षेत्र घोषणा, किसानलाई राहत तथा बीउ मलको व्यवस्थापन, खानेपानी र पशुका लागि पानीको आपत्कालीन व्यवस्थापन गरियोस्,’ उनले भने।

नजिकै बग्ने भेरी नदीबाट लिफ्ट सिँचाइ विस्तारको सम्भावना रहेको भन्दै उनले भेरी किनारका उत्पादनशील तर सुक्खाग्रस्त जमिनमा तत्काल सिँचाइको व्यवस्था गर्न माग गरे।

दीर्घकालीन रूपमा जलवायु अनुकूल कृषि, सानाठूला जलसञ्चय आयोजना, पोखरी तथा रिजर्भ संरचना, सिँचाइ, वृक्षारोपण र वन संरक्षणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने उनले बताए।

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, साउन २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्