Kathmandu Press

संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव

‘आज मुलुकमा न सुशासन छ, न भ्रष्टाचार घटेर गएको छ। न शान्ति सुरक्षा नै। आर्थिक रूपले जर्जर हुँदै राजनीतिक रूपमा अन्योल र अनिश्चिततातिर मुलुक गएको छ,’ उनले भने।
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव

काठमाडौं, साउन २३ : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।

शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी संविधान, विधि र प्रक्रियाअनुसार राज्य सञ्चालन गर्नुपर्ने बताए।

उनले भने, ‘अहिले संविधानभन्दा बाहिरबाट, असंवैधानिक ढंगले देश चलिराखेको छ। तसर्थ हामीले मुलुकमा संविधान संशोधन गर्ने र संविधान, विधि र प्रक्रियाबाट मुलुकलाई सञ्चालन गर्नेगरी राज्य परिचालन गर्नुपर्छ।’

उनले मुलुकमा सुशासन कायम नभएको, भ्रष्टाचार नघटेको र न शान्ति सुरक्षा पनि सुदृढ नभएको दाबी गरे। आर्थिक रूपमा मुलुक जर्जर हुँदै गएको र राजनीतिक रूपमा अन्योल तथा अनिश्चिततातर्फ धकेलिएको उनको भनाइ थियो।

‘आज मुलुकमा न सुशासन छ, न भ्रष्टाचार घटेर गएको छ। न शान्ति सुरक्षा नै। आर्थिक रूपले जर्जर हुँदै राजनीतिक रूपमा अन्योल र अनिश्चिततातिर मुलुक गएको छ,’ उनले भने।

यादवले विगतमा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाएर मुलुकको स्वाधीनतामाथि धावा बोलिएको अनुभूति भएको उल्लेख गर्दै अहिले राज्यका सबै शक्ति एकै ठाउँमा केन्द्रित हुँदै गएको बताए।

उनले भने,‘हिजो जसरी सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाएर मुलुकको स्वाधीनतामाथि धावा बोले भन्ने जुन अनुभूति भएको छ, आज आएर सारा शक्ति, सत्ताका शक्तिहरू एक ठाउँ केन्द्रित हुँदै भएका छन्। वैधानिक निकाय, यहाँसम्म कि मन्त्रालयहरूले पनि स्वतन्त्र रूपमा काम गरेका छैनन् एकै ठाउँबाट निर्णय हुनु र एकै ठाउँमा शक्ति केन्द्रित हुनु सर्वसत्तावादको जन्म हुनु हो। सर्वसत्तावादले अधिनायकवादलाई जन्माउँछ। अधिनायकवादले लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पार्छ।’

अध्यक्ष यादवले राजनीतिक रूपमा असमानता, आर्थिक रूपमा शोषण तथा सामाजिक रूपमा अपहेलित र अपमानित जीवन बाँच्न बाध्य नागरिकलाई समान अधिकार, समान अवसर र सम्मान दिलाउनु अग्रगामी मोर्चाको मुख्य लक्ष्य रहेको बताए।

उनले मुलुकलाई संविधान, विधि र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउन अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: १८:०२ बजे, शनिबार, साउन २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्