भारतकाे नुन खाएको रास्वपा सांसदको आरोप, विपक्षी सांसदले भने- प्रधानमन्त्रीको बोलीबारे उठाउँदा के अपराध गर्यौँ?
‘जुन हिसाबबाट पूर्ववक्ता माननीय ज्यूले भन्नुभो। त्यसमा नियमापत्ति छ। प्रधानमन्त्रीको कुर्सीलाई हामी सम्मान गर्छौं। उहाँ हाम्रो पनि प्रधानमन्त्री हो,’ राईले भने।
काठमाडाैं, साउन २२ : रास्वपाका सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे भारतको संसद्मा कुरा नउठेको तर बारम्बार विपक्षीले उठाएको भनि आरोप लगाएपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका छन्।
आजको प्रतिनिधिसभा बैठकमा चौधरीले विपक्षीले प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा बोलेको कुरा दुई महिनादेखि गरिरहेको भनि आपत्ति जनाएका थिए।
‘यो शब्द तपाईंहरूले कसका लागि बोलिराख्नुभएको छ ? यो दिल्लीको संसद्मा उठ्नुपर्ने हो। यदि प्रधानमन्त्रीले भनेको कुरामा भारत सरकारको आपत्ति थियो भने भारत सरकारको संसद्ले बोल्ने कुरा प्रतिपक्षले किन बोल्छ बारबार ? यसमा हाम्रो घोर आपत्ति छ,’ चौधरीले भने।
उनले विगतमा ‘नुन खाएको’ भाषा बोल्नुभएको त होइन भनि प्रतिपक्षीलाई आरोप लगाए। ‘कतै विगतमा नुन खाएको कुरा उठाउनुभएको त होइन ? होइन भने जुन भाषा बोल्नुभएको छ। त्यो भाषा बन्द होस् सभामुख महोदय,’ चौधरीले भने, ‘यसले देशलाई, सरकारलाई कसैलाई पनि हित गर्दैन।’
उनले बोलेपछि कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाए। ‘जुन हिसाबबाट पूर्ववक्ता माननीय ज्यूले भन्नुभो। त्यसमा नियमापत्ति छ। प्रधानमन्त्रीको कुर्सीलाई हामी सम्मान गर्छौं। उहाँ हाम्रो पनि प्रधानमन्त्री हो,’ राईले भने।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति भएको बताए। क्रसबोडरको कुरा भनेर प्रधानमन्त्रीले नभनेको उनको भनाइ थियो।
‘यो मुद्दामा सच्याइनुपर्छ। राष्ट्रियताका कुरामा पक्ष प्रतिपक्ष भन्दा पनि साझा भएर अघि बढ्नुपर्ने स्थिति छ,’ उनले भने। यहाँ मिचेको छ भने आफूले स्वीकार गर्ने बताए। नभए, अभिव्यक्ति सच्याउनुपर्ने माग जारी रहने बताए।
एमाले र नेकपाका सांसदले नियमात्ति गर्न समय माग्दा सभामुखले सुरुमा दिएनन्। पछि उनले समय दिए।
नेकपाका सांसद पार्वती विकले समस्या प्रधानमन्त्रीले नै निम्याएको जवाफ दिइन्। ‘यो कुरा भारतको सदनमा उठ्नुपर्ने भन्नुभएको छ। विगत दुई महिनादेखि यो हामीले निम्याएको समस्या हो र ? प्रधानमन्त्री आफैँ आएर यो समस्या निम्त्याउनुभएको छ,’ उनले भनिन्।
उनले प्रधानमन्त्रीले बोलेको कुरा सदनको रेकर्डबाट हटाउनुपर्यो वा कहाँकहाँ नेपालले भारतको सीमा मिचेको छ भन्ने स्पष्टीकरण माग्दा के अपराध गर्यौँ भनेर सोधिन्।
‘...हामीले के अपराध गरेका हौँ ? नेपाली जनताले यो चाहन्छन् कि चाहँदैनन् ? नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने जान्न चाहन्छन् होला त सरकार प्रमुखले बोलेपछि,’ विकले भनिन्।
एमाले सांसद साजिदा खातुन सिद्धिकीले भारतको नुन खाएको आरोप प्रमाणित गर्न चुनौती दिइन्। ‘भारतको नुन खानुभएको हो ? भनेर आरोप लगाउनुभयो। नेकपा एमालेले भारतबाट नुन खाएको छ प्रमाणीकरण गर्नुपर्छ, सुरेन्द्र चौधरी माननीज्यूले,’ उनले भनिन्।
उनले जनताका सवाल उठाउँदा कहाँ गल्ती गर्यौँ भनेर सोधिन्।

-1786106234.jpg)




-1786106234.jpg)




