संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
‘देशलाई माया गर्ने हो भने कसले के भन्यो भनेर मात्र बस्ने होइन, समाधान खोज्नुपर्छ। मान्छेबाट गल्ती हुन सक्छ, तर गल्ती स्वीकार गरेर समस्याको निकास निकाल्नुपर्छ। समाधान नखोज्ने हो भने हामी कहिलेसम्म यही ढंगले अघि बढ्ने?,’ उनले भने।
काठमाडौं, साउन २२ : श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। उनले निरन्तरको अवरोधले संसद्को समय खेर गएको र जनतामा गलत सन्देश गएको बताए।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संसद् अवरुद्ध भइरहँदा जनताले आफ्ना प्रतिनिधिलाई हेरिरहेको भन्दै जतिसक्दो छिटो राजनीतिक सहमतिमार्फत निकास निकाल्नुपर्ने बताए।
‘म चाहिँ यो विषयमा अगाडिदेखि नै सकेभर छिटो टुङ्ग्याऔँ भन्ने पक्षमा छु। जनताले तपाईं–हामीलाई उनीहरूको प्रतिनिधि बनाएर पठाएका हुन्। उहाँहरू हामीलाई हेरिरहनुभएको छ। यस्तो अवस्थामा हामीले कति वर्षसम्म यही विषयमा मात्रै छलफल गरिरहने ? समस्याको समाधान खोज्नैपर्छ,’ उनले भने।
उनले संसदमा आफ्नो पार्टीले संकल्प प्रस्तावसमेत अघि सारेको स्मरण गर्दै राजनीतिक दलहरूले एकअर्कालाई दोषारोपण गर्नेभन्दा समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखे।
‘देशलाई माया गर्ने हो भने कसले के भन्यो भनेर मात्र बस्ने होइन, समाधान खोज्नुपर्छ। मान्छेबाट गल्ती हुन सक्छ, तर गल्ती स्वीकार गरेर समस्याको निकास निकाल्नुपर्छ। समाधान नखोज्ने हो भने हामी कहिलेसम्म यही ढंगले अघि बढ्ने?,’ उनले भने।
दलका नेता, प्रधानमन्त्री र सभामुखबीच छलफलमार्फत छिट्टै निष्कर्ष निकाल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संसद् सञ्चालनलाई प्रभावकारी बनाउन आग्रह गरे।
‘दुई–दुई महिना सदन अवरुद्ध भइरहने हो भने बरु दलका नेता, प्रधानमन्त्री र सभामुख बसेर यसको निष्कर्ष निकाल्नुपर्छ। यसको समाधान सडकमा होइन, यही संसद्भित्र खोजिनुपर्छ,’ उनले भने।
सांसद राईले संसद् अवरोधका कारण समय र स्रोतको दुरुपयोग भइरहेको उल्लेख गर्दै सांसदहरूले आफ्नो समय जनताका समस्या उठाउन खर्चिनुपर्ने बताए।
‘एक जना सांसदले चार मिनेट मात्रै बोल्दा पनि हरेक बैठकमा हामीले कति समय खेर फालिरहेका छौँ भन्ने हिसाब गर्नुपर्छ। यो जनताको अपेक्षाअनुसारको काम होइन,’ उनले भने।
सरकारले दिएको स्पष्टीकरणबारे आफूहरूले अध्ययन गरेको उल्लेख गर्दै उनले उठाइएका विषयको अझै प्रभावकारी समाधान हुन नसकेको बताए।
उनले भने, ‘सरकारले दिएको स्पष्टीकरणका विषयमा हामीले अध्ययन गरेका छौँ। जनताले पनि सबै कुरा देखिरहनुभएको छ। धेरै विषय उठे, तर अहिलेसम्म त्यसको उचित समाधान भएको छैन भन्ने हाम्रो निष्कर्ष छ। त्यसैले सभामुखज्यूको पहलमा समस्याको समाधानको एउटा बिन्दु खोजौँ। संसद्लाई फेरि दुर्गन्धित बनाउने होइन, निकास दिने बाटो खोज्नुपर्छ।’











