Kathmandu Press

सांसद यादवको प्रश्न- ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

उनले एक चरणमा २० करोड रुपैयाँ र अर्को चरणमा २ करोड रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको तथा ट्रमा सेन्टरका लागि चार बिघा जग्गा अधिग्रहणसमेत सम्पन्न भइसकेको बताए।
सांसद यादवको प्रश्न- ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना किन रोकियो भन्दै सरकारसँग जवाफ माग गरेका छन्। 

उनले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने निर्णयबाट पछि हट्नु नीतिगत निरन्तरताविपरीत भएको भन्दै त्यसले जनतामा राज्यप्रतिको विश्वास कमजोर बनाउने चेतावनी दिए। 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले ०७७ सालदेखि विभिन्न सरकारले ढल्केबरमा समर्पित ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढाएको स्मरण गराए।

उनले एक चरणमा २० करोड रुपैयाँ र अर्को चरणमा २ करोड रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको तथा ट्रमा सेन्टरका लागि चार बिघा जग्गा अधिग्रहणसमेत सम्पन्न भइसकेको बताए।

‘बजेट भाषणमा मधेश प्रदेशमा एउटा ट्रमा सेन्टर बनाइने प्रतिबद्धता जनाइयो। तर दुई दिनअघि स्वास्थ्यमन्त्रीले ढल्केबरको नाम नै नलिई अर्को ठाउँको नाम लिनुभयो। अरू कुनै ठाउँमा ट्रमा सेन्टर बन्छ भने कुनै विरोध छैन। तर ढल्केबरमा प्रस्तावित डेडिकेटेड ट्रमा सेन्टर कहाँ हरायो ? सरकारसँग मेरो प्रश्न छ,’ उनले भने।

सांसद यादवले ट्रमा सेन्टर स्थापना गर्दा दुर्घटना धेरै हुने र रणनीतिक महत्व भएको स्थानलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार ढल्केबर पूर्व–पश्चिम राजमार्ग, काठमाडौं–जनकपुर सडक तथा बीपी राजमार्ग जोडिने प्रमुख जंक्शन भएकाले वैज्ञानिक रूपमा पनि ट्रमा सेन्टरका लागि सबैभन्दा उपयुक्त स्थान हो।

‘ट्रमा सेन्टर त्यही ठाउँमा हुनुपर्छ जहाँ सबैभन्दा धेरै दुर्घटनाका बिरामी आउँछन्। ढल्केबर पूर्व–पश्चिम राजमार्गको प्रमुख जंक्शन हो। काठमाडौं–जनकपुर सडक र बीपी राजमार्गसँग पनि जोडिएको छ। यही कारणले वैज्ञानिक रूपमा पनि ढल्केबर ट्रमा सेन्टरका लागि सबैभन्दा उपयुक्त स्थान हो। यही मूल्यांकनपछि सरकारले राष्ट्रियस्तरको ट्रमा सेन्टर त्यहाँ बनाउने निर्णय गरेको थियो,’ उनले भने।

उनले मधेश प्रदेशको करिब ६१ लाख जनसंख्यामध्ये धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा मात्रै झण्डै ३० लाख जनसंख्या रहेको उल्लेख गर्दै यी जिल्लाका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन ढल्केबर उपयुक्त केन्द्र हुने दाबी गरे। 

सरकारले विकासभन्दा राजनीति प्राथमिकतामा राखेको आरोप लगाउँदै उनले नीतिगत निरन्तरता तोड्ने कामले राज्यप्रतिको जनविश्वास घट्ने बताए।

हालै मधेश प्रदेशमा भएको साम्प्रदायिक तनावपछि अवस्था सामान्य बन्दै गएको उल्लेख गर्दै उनले यस्ता निर्णयले पुनः जनआक्रोश बढाउन सक्ने चेतावनी दिए।

उनले भने, ‘केही दिनअघि मात्रै मधेश प्रदेश साम्प्रदायिक सद्भाव बिथोलिने अवस्थाबाट बल्लबल्ल बाहिर आएको छ। यस्तो बेला सरकारले गरेको निर्णयले फेरि समाजमा आक्रोश र निराशा ल्याउन सक्छ। अहिले स्थानीय जनता आन्दोलनरत छन्। ढल्केबरमै ट्रमा सेन्टर हुनुपर्छ भन्ने पक्षमा म सरकारको निर्णयको विरोध गर्छु।’

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, साउन २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्