Kathmandu Press

प्रदेशको औचित्य छैन भन्नेहरू सङ्घीयता विरोधी हुन् : शंकर पोखरेल 

‘प्रदेश सरकारप्रति फैलाइएको धारणा सङ्घीयताको विपक्षमा छ, प्रदेशका कारणले खर्च बढ्यो भनिन्छ, त्यो अत्यन्त गलत हो’ उनले भने। 
प्रदेशको औचित्य छैन भन्नेहरू सङ्घीयता विरोधी हुन् : शंकर पोखरेल 

रामेछाप, साउन २२ : नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताएका छन्। 

प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उनले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गरे।

‘प्रदेश सरकारप्रति फैलाइएको धारणा सङ्घीयताको विपक्षमा छ, प्रदेशका कारणले खर्च बढ्यो भनिन्छ, त्यो अत्यन्त गलत हो’ उनले भने। 

तीनवटा तहका सरकारमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार प्रदेश सकार नै भएको उनको भनाइ छ। ‘सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार चाहिँ काम लाग्दैन भन्ने, साधारण खर्च बढी गर्ने चाहिँ अपरिहार्य छ भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो उचित होइन,’ उनले भने। 

पत्रकारसँग कुरा गर्दै पोखरेलले संघीयतामा प्रदेश नै मुख्य भएको स्पष्ट पारे। ‘प्रदेश छैन भने सङ्घीयता नै छैन, कि सङ्घीयता नै बेठिक हो भन्नेमा जानु प¥यो, सङ्घीयता ठिक हो भन्ने हो भने प्रदेशको भूमिकालाई स्विकार्नु पर्छ,’ पोखरेलले भने। 

नेपालको राजनीतिक अस्थिरताको सबैभन्दा बढी सिकार प्रदेश भएको पनि उनले बताए । सरकार धेरै परिवर्तन हुँदा जनतामा नैराश्यता बढेको उनको धारणा छ। 

पोखरेलले प्रदेश सरकारमा स्थिरता होस् भनेर नै कांग्रेससँग सहकार्य गरिएको भए पनि कांग्रेसले छाडेको कारण अहिलेको अवस्था आएको उनको भनाइ छ। कांग्रेसले नेतृत्व गरेको ठाउँमा मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई निकाले पछि यस्तो अवस्था आएको उनले बताए। 

एमाले अहिले पनि कांग्रेस र नेकपा सहितको प्रदेश सरकारकै पक्षमा रहेको भए पनि कांग्रेस तीनपार्टी मिलेर सरकारमा जान तयार नरहेको उनले बताए । यद्यपि मधेस प्रदेशमा तीनपार्टीसँग मिलेर कांग्रेसले नेतृत्व गरिरहेको उनले स्मरण गराए। 

अहिले जनता स्थायित्वको पक्षमा रहेको बताउँदै उनले त्यो कुरालाई एमालेले पनि सम्बोधन गर्नुपर्ने उनको धारणा छ । अहिलेकै मुख्यमन्त्री र दलको नेतालाई कायम राखेरै जाँदा राम्रो हुनु सुझाव आफूले पार्टी अध्यक्ष केपी ओलीलाई दिएको उनले बताए। 

उनले नेकपा एमालेसँग भएको जस्तो तागत अन्य कुनै दलसँग नभएको बताउँदै यो तागतलाई फेरि देशको हितको पक्षमा लगाउनु पर्नेमा जोड दिए। मुलुकका सामु भएको चुनौतीको सामना गर्न सक्ने एक मात्र शक्ति नेकपा एमाले भएको उनले दाबी गरे।

उनले लोकतन्त्र, मुलुक र संविधानको रक्षाका लागि फेरि दलहरू बलियो हुनु पर्ने उनले बताए। ‘यसको लागि कार्यकर्ताको मनोबल उकास्ने कुरा र जनतामा टुटेको विश्वासलाई उठाउने दुईवटा काम हामीले गर्नु पर्दछ,’ उनले भने। 

पोखरेलले पार्टीको पुनर्गठन अभियान कुनै व्यक्ति विशेषको अभियान नभएको पनि स्पष्ट पारे। यो पार्टीको रक्षा र आन्दोलनको हितको कुरा भएको उनको धारणा छ । वैचारिक र राजनीतिक रूपमा पार्टीलाई बलियो बनाउन पार्टीमा सुद्धिकरण गर्नुपर्ने, संगठनलाई सुदृढीकरण र यथास्थितिबाट पार्टीलाई बाहिर निकाल्नु पर्नेमा उनले जोड दिए। 

अहिलेको सरकार सुरुमा आउँदा तयारीको साथ आएको देखिए पनि एक सय दिनसम्म आइपुग्दा सरकार पूर्णरुपमा असफल भएको उनको दाबी छ। सरकारले जनताको सामु गरेको बाचा पुरा गर्न नसकेको बताउँदै बताउँदै सरकारकै कारण नागरिकमा व्यवस्था प्रति नै वितृष्णा बढ्ने जोखिम देखिएको उनको धारणा छ।

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, साउन २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्