भंगहा नगरपालिकामा राहत वितरणमा लफडा, मेयर विरुद्ध स्थानीय आन्दोलित
महोत्तरी, जेठ १७ : भंगहा नगरपालिकाले राहत वितरणमा अनियमतितता गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । सर्वसाधारणले लकडाउनको समयमा भंगहा नगरपालिकाक....

महोत्तरी, जेठ १७ : भंगहा नगरपालिकाले राहत वितरणमा अनियमतितता गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । सर्वसाधारणले लकडाउनको समयमा भंगहा नगरपालिकाको कार्यालय सीतापुर बजारमा राहतमा अनियमितिता भएको भन्दै प्रदर्शन गरेका हुन् ।
राहत वितरणमा नगरप्रमुख सञ्जिव शाहले मनोमानी गरी आफन्तलाई मात्रै वितरण गरेको र गरिब तथा निमुखा वर्गलाई राहत नदिएको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका हुन् । प्रदर्शनकारीले मेयरको राजिनामा समेत मागेका छन्। यसअघि पनि नेकपा र कांग्रेसले संयुक्तरुपमा मेयरसँग स्थानीयको गुनासो सम्बोधन गर्न माग राखेका थिए। तर, तत्कालिन राजपाबाट निर्वाचित मेयर साहले उनीहरुको मागमा कुनै वास्ता नगरेको गुनासो नेकपा र कांग्रेस नेताहरुको छ।
नेकपाका भंगहा इन्चार्ज मुकुन्द दाहालले कांग्रेस र नेकपासमेतको सहभागितामा शुक्रबार जमुनियास्थित थारु टोल बन्द्रामा विरोध प्रदर्शन भएको र त्यतिबेला मेयर साह पक्षले विरोध कार्यक्रममै आक्रमण गरेको आरोप लगाए। ‘हामीले हिजो भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेका थियौँ । कार्यक्रम समापन हुनै लागको थियो, सोही क्रममा रक्सी खाएर आएका मेयरका मान्छेले हामीमाथि आक्रमण गरे,’ दाहालले भने।
कांग्रेस नगरपालिका संयोजक रुपनारायण सिंहले पनि मेयरले अनियमितता गरेकाले आन्दोलन गर्नुपरेको बताए । ‘१० केजी चामल दिनुपर्नेमा ९ केजी मात्रै दिएको पाइयो । कतिपयसँग त पैसा नै लिएको पनि पाइयो । जसले राहत पाउनुपर्ने हो उसले राहत पाइनन्, आफ्नो मनखुसी राहत वितरण गरिएपछि आन्दोलन गर्न बाध्य भएका थियौँ,’ उनले भने, ‘शुक्रबार प्रशासनलाई नै भनेर दुई घण्टा चक्का जाम गरेका थियौं । कार्यक्रम सकिन लाग्दा मेयरका १०/१२ जनाको समुहमा आएर एकाएक आक्रमण गरे।’
मेयर पक्षको आक्रमणबाट आन्दोलनकारीका तर्फबाट रामपृत शलाको टाउँकोमा चोट लागेको छ । त्यस्तै दाहालले शनिबार विहान १२ बजे ९८१००५९३७९ एनसेलको नम्बरबाट आफुलाई पिट्ने धम्की समेत आएको बताए।
मेयर शाहले भने राहत वितरणमा अनियमितता नभएको दावी गरे । उनले भने, ‘अहिलेसम्म करिब ६० लाखको राहत ९/१० हजार गरिब घरधुरीलाई वितरण गरिएको छ । नेकपा र कांग्रेसले जितेका वडामा राहत वितरण गरिएको छैन। उनीहरुले प्रत्येक घरधुरीलाई ५० किलोका दरले चामल दाल लगायतका सामान दिन भनेर आन्दोलन गरेका हुन् ।’
मेयर साहले उल्टै भतिज विनोद साह र उसको साथी विशाल श्रेष्ठलाई नेकपा संयोजक दाहालले हातपात गरेको आरोप लगाएका छन्।











