गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
'हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जान्छौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमाप्रार्थी पनि छु । हजुरहरूसँग माफी पनि माग्न चाहन्छु।'
काठमाडाैं, साउन २१ गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा हुन गएको स्वीकार गर्दै उनले रोष्ट्रमबाटै माफी मागेका हुन्।
प्रश्नाेत्तर कार्यक्रममामा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तकाे हत्या प्रकरणाका बारेमा प्रश्न साेधेका थिए।
साे प्रश्नकाे जवाफ दिँदै गृहमन्त्री गुरुङले तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको? भन्दै ठाडो प्रतिप्रश्न गरेका थिए। उनले आइन्दा यस्तो प्रश्न नगर्न समेत सांसदहरूलाई चेतावनी दिएका थिए।
त्यसपछि मन्त्री गुरुङको उक्त भाषाशैलीप्रति सांसदहरूले आपत्ति जनाएका थिए।
साेही घटनापछि गृहमन्त्री गुरूङले राेष्टमबाटै माफी मागे। उनले भने, 'हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जान्छौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमाप्रार्थी पनि छु । हजुरहरूसँग माफी पनि माग्न चाहन्छु।'











