हिन्दु अधिराज्य र राजसंस्था पुनर्स्थापना हाम्रो बटमलाइन : डा. धवलशमशेर जबरा
‘नेपाल विविधतामा एकता भएको देश हो। सबै जाति, जनजाति, धर्मवली सबैले राजसंस्थालाई मान्दै आएको परम्परा छ । राजसंस्था पाखा लगाउँदा देशको गति वा हालत के भयो भन्ने कुरा भन्नुपर्ने यहाँ छैन। त्यसकारण एउटा मियोको रुपमा वा एउटा अभिभावकको रुपमा राजसंस्थालाई पुनर्स्थापना गर्ने योजना हाम्रो छ,’ उनले भने।
काठमाडौं, साउन २१ : जय नेपाल पार्टीका अध्यक्ष डा।धवलशमशेर जबराले सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्थाको पुनर्स्थापना गर्ने बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजसंस्था आवश्यक रहेको दाबी गरे।
‘नेपाल विविधतामा एकता भएको देश हो। सबै जाति, जनजाति, धर्मवली सबैले राजसंस्थालाई मान्दै आएको परम्परा छ । राजसंस्था पाखा लगाउँदा देशको गति वा हालत के भयो भन्ने कुरा भन्नुपर्ने यहाँ छैन। त्यसकारण एउटा मियोको रुपमा वा एउटा अभिभावकको रुपमा राजसंस्थालाई पुनर्स्थापना गर्ने योजना हाम्रो छ,’ उनले भने।
राजसंस्था हटेपछि मुलुक राजनीतिक अस्थिरता र अव्यवस्थातर्फ गएको उनले बताए।
‘देश सबैको हो । हरेक देशको वा एउटा राष्ट्रको एउटा धर्म हुन्छ । क्रिश्चियनहरुको सयौँ वटा देश छन् । मुस्लिमहरुको ४७ वटा देश छन्। बुद्धिष्टहरुको ११ वटा देश छन् । विश्वमा एक अर्ब ५० करोड भन्दा बढी हिन्दुहरु छन् । त्यसमध्ये एकमात्र हिन्दु राज्य थियो त्यो नेताहरुले सिध्याइदिए,’ उनले भने।
उनले विश्वका विभिन्न देशहरूको धार्मिक पहिचान भएको उल्लेख गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताए।
उनले जय नेपाल पार्टीले शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत—सडक आन्दोलन र संसदीय अभ्यास दुवै माध्यमबाट-हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि अभियान सञ्चालन गर्ने बताए।
उनले देशको समृद्धिलाई पार्टीको अर्को प्रमुख प्राथमिकता बनाइएको जानकारी दिए। प्राकृतिक स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सके नेपाल विश्वकै समृद्ध राष्ट्रमध्ये एक बन्न सक्ने सम्भावना रहेको उनले बताए ।
वर्तमान राजनीतिक नेतृत्वको गलत सोच र स्वार्थका कारण देश आर्थिक रूपमा पछाडि परेको आरोप लगाए।











