Kathmandu Press

राष्ट्रिय सभामा गृहमन्त्रीले सांसदहरूलाई भने– बारम्बार एउटै विषय उठाएर प्रश्न नगर्नुस्

‘माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छ?, यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा खेरि किन नगर्नु भएको यो?’ 
राष्ट्रिय सभामा गृहमन्त्रीले सांसदहरूलाई भने– बारम्बार एउटै विषय उठाएर प्रश्न नगर्नुस्

काठमाडौँ, साउन २१ : गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन्। 

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा  कायम राख्न गृहमन्त्रालय  क्रियाशील रहेको बताए।

गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिए। 

नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णु बहादुर विश्वकर्माले निर्मला पन्तको हत्याको विषयमा सोधेको जावाफमा गृहमन्त्रीले प्रश्नकर्तालाई नै प्रश्न गरे।

उनले भने, ‘माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छ?, यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा खेरि किन नगर्नु भएको यो?’ 

आफू सरकारका हुँदा काम नगर्ने अनि नयाँ सरकार बनेपछि विषय उठाएर यो विषय उठाएर घाउलाई कोट्टाउने काम किन गरेको भनेर गृहमन्त्रीले अर्को प्रश्न गरे । गृहमन्त्री गुरुङले उक्त विषयमा  अनुसन्धान जारी रहेकाले त्यसमा टिप्पणी गर्न उपयुक्त नहुने बताए। उनले बारम्बार एउटै विषय उठाए प्रश्न नगर्न आग्रह गरे।

‘यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु?’ 

गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे  टिप्पणी गर्न नचाहेको पनि बताए। उनले यस्ता विषयमा व्यक्तिगत रूपमा पनि आफूलाई सोध्न सकिने बताए।


सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन भएको महसुस गरेको बताउँदै प्रश्न गर्ने सांसद र त्यसको उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराए। 

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, साउन २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्